काठमाडौँ । धितोपत्र बोर्डले हालै कार्यान्वयनमा ल्याएको मार्जिन लेन्डिङ (Margin Lending) लाई थप प्रभावकारी बनाउन र बजारमा लगानीका विकल्पहरू थप्न कार्यकारी निर्देशक रूपेश केसीको संयोजकत्वमा एक कार्यदल गठन गरी अध्ययन सुरु गरेको छ ।
१. इन्ट्राडे कारोबार (Intra-day Trading) के हो ?:
एकै दिनमा सेयर किनेर सोही दिन बजार बन्द हुनुअगावै बिक्री गर्नुलाई इन्ट्राडे भनिन्छ ।
फाइदा: हाल नेपालमा सेयर किनेको दुई दिनपछि मात्र बेच्न पाइने (T+2) व्यवस्था छ । इन्ट्राडे सुरु भएपछि लगानीकर्ताले तत्कालै नाफा बुक गर्न वा नोक्सानी कम गर्न (Stop Loss) सक्छन् ।
२. सर्ट सेलिङ (Short Selling) के हो?:
आफूसँग सेयर नभए पनि सापटी लिएर बेच्ने रणनीति हो। मूल्य घट्ने अपेक्षा गरिएको सेयर महँगोमा बेचेर पछि मूल्य घटेपछि किनेर फिर्ता गरिन्छ।
फाइदा: यसले घट्दो बजारमा पनि लगानीकर्तालाई नाफा कमाउने बाटो खोल्छ।
३. सेक्युरिटिज लेन्डिङ एन्ड बरोइङ (SLB)
सर्ट सेलिङका लागि अरूको सेयर सापटी लिनुपर्ने हुन्छ। लामो समय सेयर होल्ड गर्नेहरूले निश्चित शुल्क लिएर आफ्नो सेयर अरूलाई सापटी दिन सक्छन् । यसले सेयर होल्ड गर्नेलाई अतिरिक्त आम्दानीको स्रोत दिन्छ ।
४. अक्सन मार्केट (Auction Market)
यदि कसैले सेयर सापटी लिएर बेच्यो तर समयमा फिर्ता गर्न सकेन भने बजारमा ‘सर्टेज’ हुन्छ। यस्तो अवस्थामा तत्काल सेयर मिलान गर्न ‘अक्सन मार्केट’ सञ्चालन गर्नुपर्ने हुन्छ ।
किन आवश्यक छ यो व्यवस्था ?
बजारमा तरलता: एकै दिनमा धेरै पटक कारोबार हुने भएकाले बजारमा ‘भोल्युम’ र तरलता बढ्छ ।
मार्जिन कारोबारको प्रभावकारिता: सर्ट सेलिङ र इन्ट्राडे बिना मार्जिन लेन्डिङ पूर्ण रूपमा सफल हुन सक्दैन ।
घट्दो बजारमा राहत: अहिले बजार घट्दा लगानीकर्ताहरू केवल नोक्सानी हेरेर बस्नुपर्ने बाध्यता छ, तर सर्ट सेलिङले घट्दो बजारमा पनि कारोबार गर्ने अवसर दिन्छ ।
कार्यदलको मुख्य काम:
बोर्डका अनुसार कार्यदलले यी व्यवस्थाका लागि आवश्यक नीतिगत, कानुनी, संरचनागत र प्राविधिक अवस्थाको अध्ययन गर्नेछ। यसका लागि छुट्टै निर्देशिका वा नियमावली ल्याउने बोर्डको तयारी छ ।