काठमाडौँ । नेप्से परिसूचकको ओरालो यात्राले बुधबार पनि निरन्तरता पाएको छ । अघिल्लो कारोबार दिन मंगलबार १२.५८अंकले घटेको नेप्से परिसूचक यसदिन १.६४ अंकले घटेर २६८१.५० विन्दुमा अडिएको छ । नेप्सेको ओरालो यात्रा जारी रहँदा कारोबार रकम समेत ओरालो लागेको छ ।
यसदिन ३२६ स्क्रिप्सको १ करोड ६६ लाख ८२ हजार ६२६ कित्ता सेयर ७ अर्ब ४९ करोड ८७ लाख ४२ हजार ९८ रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो दिन ८ अर्ब ६३ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो ।
नेप्से घटेपनि चार कम्पनीको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भयो । कालिञ्चोक दर्शन,सुपर माइ हाइड्रोपावर,सुपर मादी हाइड्रोपावर र आँखु खोला जलविद्युतको सेयर १० प्रतिशतले बढ्यो ।
८० करोड मूल्य बराबरको सेयर कारोबार गरी आँखु खोला जलविद्युत शीर्षस्थानमा रह्यो । एसवाई प्यानल नेपालले ६० करोडको सेयर कारोबार गर्दा राधी विद्युतले २६ करोड,श्रीनगर एग्रिटेकले २५ करोड र बन्दिपुर केवलकारले २० करोड मूल्य बराबरको सेयर कारोबार गरे ।
कारोबारमा आएकामध्ये ११३ वटा स्टक्सको मूल्य बढ्दा १३४ वटाको घट्यो। १३ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो । सातवटा समूहको उपसूचक बढ्दा छवटा समूहको उपसूचक नकारात्मक देखिए ।