काठमाडौँ । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा मागभन्दा ३७ गुणा बढी आवेदन परेको छ । कम्पनीले माघ १२ गतेदेखि १५ गतेसम्म ८ लाख ३० हजार कित्ता शेयर निष्कासन गरेको थियो ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार अन्तिम दिनसम्म २६ लाख ६६ हजार ६६४ जना आवेदकबाट ३ करोड ८ लाख ५०० कित्ताका लागि आवेदन परेको छ । यो माग गरिएको कुल कित्ताको तुलनामा ३७.११ गुणा बढी हो ।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट भाग्यमानी ८३ हजार आवेदकले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् । बाँकी झण्डै २५ लाख ८२ हजार आवेदकको हात खाली हुने निश्चित देखिएको छ ।
आयोजनाको जानकारी यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको ‘माथिल्लो मिदिम जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ ।
डा. खगेन्द्र प्रसाद ओझा अध्यक्ष रहेको यस कम्पनीको प्रबन्ध निर्देशकमा माधव राज आचार्य हुन् । सञ्चालक समितिमा अनु खनाल, विवेक रावल, डा. हिमाल भट्टराई र स्वतन्त्र सञ्चालकमा ढुंडीराज ज्ञवाली रहेका छन् ।