काठमाडौँ । शिखर पावर डेभलपमेन्ट लिमिटेडले पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ भर्ने आज (माघ ९ गते) अन्तिम दिन रहेको छ।
कम्पनीले गत माघ ६ गतेदेखि आयोजना प्रभावित बागलुङका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुला गरेको थियो। वैदेशिक रोजगारीमा रहेकाहरूले आज कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ भने स्थानीय बासिन्दाका लागि भने माघ २० गतेसम्म आवेदन दिने समय उपलब्ध छ।
नेपाल धितोपत्र बोर्डले पुस १६ गते कम्पनीलाई कुल ३२ करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासनको अनुमति दिएको थियो। सोही अनुमति बमोजिम पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेकाहरूका लागि २ लाख २२ हजार कित्ता र स्थानीयका लागि ९ लाख ८० हजार कित्ता सेयर निष्कासन गरिएको हो।
बागलुङमा ४.९६ मेगावाट क्षमताको भिम खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८१ फागुन २५ देखि व्यावसायिक उत्पादन सुरु गरेको यस कम्पनीले सोही खोलामा ६.०५ मेगावाटको तल्लो भिम खोला आयोजना पनि निर्माण गरिरहेको छ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। नारायण प्रसाद उपाध्याय अध्यक्ष रहेको यस कम्पनीको सञ्चालकहरूमा हेमराज आचार्य, सरोज दाहाल, नम्रता केसी र अभय पाण्डे हुनुहुन्छ।
लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।