काठमाडौँ । आगामी २१ फागुनका लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनको मनोनयन दर्ता भइरहँदा मंगलबार सेयर बजारमा निकै उत्साह देखिएको छ ।
निर्वाचनले मुलुकमा राजनीतिक स्थिरता ल्याउने अपेक्षामा लगानीकर्ता ढुक्क देखिँदा बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको हो ।
मंगलबार नेप्से परिसूचक ४२.२६ अंक (१.५८ प्रतिशत) ले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ। यस दिन बजारका सबै उपसूचकहरूमा हरियाली छाएको छ ।
बजारको मुख्य तथ्याङ्क:
परिसूचक: २७१४.८१ (४२.२६ अंकको वृद्धि)
कुल कारोबार रकम: ११ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी
कारोबार संख्या: ३३९ धितोपत्रको १ लाख १५ हजार १८१ पटक
कुल कित्ता सेयर: २ करोड ५१ लाख ८५ हजार ६४७
नाफा र घाटाको अवस्था
क्षेत्रगत आधारमा आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै ३.३६ प्रतिशत मुनाफा आर्जन गरेका छन् । कम्पनीगत रूपमा गुर्खाज फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ। यसबाहेक आँखुखोला जलविद्युत्, राप्ती हाइड्रो, नेसनल हाइड्रो र एनआरएन इन्फ्रास्ट्रक्चरको मूल्य उल्लेख्य बढेको छ ।
यता, एसबीएल डिबेन्चरका लगानीकर्ताले सबैभन्दा धेरै ४.२३ प्रतिशत गुमाएका छन् । प्राइभ डिबेन्चर, सुपरमादी हाइड्रो र सामलिङ पावरको मूल्य पनि ओरालो लागेको छ। कारोबार रकमका आधारमा आज एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट शीर्ष स्थानमा रहेको छ ।
मुलुकभर निर्वाचनको सरगर्मी बढिरहँदा पुँजी बजारमा देखिएको यो उछाललाई लगानीकर्ताको सकारात्मक मनोबलका रूपमा विश्लेषण गरिएको छ ।