काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनाको वित्तीय प्रतिवेदन सार्वजनिक गर्दै सेयर धितो कर्जामा ऐतिहासिक वृद्धि भएको देखाएको छ । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कुल सेयर धितो कर्जा (मार्जिन लेन्डिङ) यस अवधिमा १ खर्ब ४८ अर्ब ७८ करोड ८१ लाख रुपैयाँ पुगेको छ ।
राष्ट्र बैंकको तथ्याङ्कअनुसार कुल सेयर कर्जामध्ये १ करोड रुपैयाँभन्दा माथिको कर्जाको हिस्सा मात्रै १ खर्ब ३ अर्ब ८७ करोड ४५ लाख रुपैयाँ छ । यो कुल सेयर कर्जाको करिब ७० प्रतिशत हो। यसले सेयर बजारमा ठूला लगानीकर्ताहरूको प्रभुत्व अझ सुदृढ हुँदै गएको स्पष्ट पार्छ ।
चालु आवको पाँच महिनामा मात्रै ४ अर्ब ९४ करोड ६६ लाख रुपैयाँ थप कर्जा प्रवाह भएको छ। बजारको उतार-चढावबीच ठूला लगानीकर्ताहरूले बैंक कर्जालाई मुख्य रणनीतिक उपकरणका रूपमा प्रयोग गरिरहेको देखिएको छ ।
कर्जाको वर्गीकरण र वृद्धि दर:
१ करोडमाथि: कुल १ खर्ब ३ अर्ब ८७ करोड रुपैयाँ (सबैभन्दा बढी हिस्सा)।
५० लाख देखि १ करोड: १७ अर्ब ९० करोड ३० लाख रुपैयाँ पुगेको छ, जुन पाँच महिनामा ११.७ प्रतिशतको वृद्धि हो।
२५ लाख देखि ५० लाख: १८ अर्ब २८ करोड १९ लाख रुपैयाँ पुगेको छ, यस अवधिमा ७१ करोड ५८ लाख रुपैयाँ थपिएको छ।
२५ लाखभन्दा कम (साना लगानीकर्ता): साना लगानीकर्ताको कुल कर्जा ८ अर्ब ७२ करोड ८७ लाख रुपैयाँ पुगेको छ, जसमा ५ महिनामा ६.७ प्रतिशतको वृद्धि देखिएको छ ।
पर्याप्त तरलता र तुलनात्मक रूपमा सस्तो ब्याजदरका कारण लगानीकर्ताहरू कर्जा लिएर सेयर बजारमा लगानी गर्न आकर्षित भएका हुन् । ठूला लगानीकर्ताहरूले बजारको उतार-चढावको समयमा आफ्नो ‘पोजिसन’ बलियो बनाउन कर्जालाई हतियार बनाएका छन् भने साना र मध्यम लगानीकर्ताको उपस्थिति पनि क्रमिक रूपमा बढ्दै गएको छ ।
सेयर धितो कर्जाको यो बढ्दो आकारले बजारमा तरलता र क्रियाशीलता बढाए पनि जोखिम व्यवस्थापनका दृष्टिले भने सतर्कता आवश्यक रहेको वित्तीय विश्लेषकहरूले बताएका छन् ।