काठमाडौँ । कोशी प्रदेशको इटहरीमा अवस्थित पाँचतारे स्तरको होटल ‘सोल्टी वेस्टेन्ड इटहरी’को स्वामित्व रहेको कम्पनी होटल गरिमा लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका ४० लाख कित्ताले हुन आउने कुल ४० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको हो । यसका लागि निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरिएको छ ।
सेयर निष्कासन सम्बन्धी द्विपक्षीय सम्झौता पत्रमा होटल गरिमा लिमिटेडका प्रबन्ध सञ्चालक विनोद पौडेल र लक्ष्मी सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे । नयाँ बानेश्वरस्थित क्यापिटलको कार्यालयमा पुस २५ गते आयोजित एक कार्यक्रमबीच उक्त सम्झौता भएको हो ।
होटल गरिमा लिमिटेडले यस कदमबाट कम्पनीको पारदर्शिता बढ्नुका साथै कोशी प्रदेशमा पर्यटन विकास र लगानीका अवसरहरू विस्तार हुने विश्वास लिएको छ ।
सोल्टी होटल एण्ड रिसोर्ट समूहबाट व्यवस्थापन गरिएको यस होटलमा एउटा रोयल सुइट, आठ वटा सुइट, ८ एक्जेक्युटिभ, ५८ डिलक्स र ७ वटा स्टुडियो कोठाहरू रहेका छन् । होटलमा दुई व्यांकेट, तीनवटा सेमिनार हल, ‘नुवाड थाई’ ब्रान्डको स्पा, जिम र रेस्टुरेन्ट क्याफे लाउन्ज लगायतका आधुनिक सुविधाहरू उपलब्ध छन् ।