काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार परिसूचक नेप्सेमा झिनो सुधार देखिएको छ। नेप्से ४.५९ अंकले बढेर २,६४०.५४ विन्दुमा पुगेर बन्द भएको हो।
त्यस्तै, यस दिन सेन्सेटिभ इण्डेक्स ०.९२ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.४५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.३५ अंक बढेको छ।
सूचकमा सामान्य सुधार देखिए पनि कारोबार रकममा भने अघिल्लो दिनको तुलनामा गिरावट आएको छ । बुधबार १३ अंकले बजार घट्दा ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएकोमा आज घटेर ४ अर्ब ९० करोड ८० लाख रुपैयाँमा समेटिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन ३२८ स्टकको १ करोड ४ लाख ३१ हजार कित्ता शेयर ६९ हजार २६१ पटकको कारोबारमा खरिद बिक्री भएको छ ।
उपसूचक र कम्पनीहरूको अवस्था:
बिहीबार बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत्, उत्पादन तथा प्रशोधन र दुवै बीमा समूहको उपसूचक धनात्मक रहेका छन् । १३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक घटेको छ । कुल १२९ कम्पनीको शेयर मूल्य बढ्दा ११५ कम्पनीको भने ओरालो लागेको छ ।
प्रमुख आकर्षण:
उच्च वृद्धि: सान्भी इनर्जीको शेयर मूल्य सबैभन्दा बढी ८.१६ प्रतिशतले बढेको छ । त्यस्तै, यस दिन एसवाई प्यानल नेपालको शेयर मूल्य५.७१ प्रतिशतले बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम छ ।
मूल्य घटेका स्टकहरुको मूल्य गिरावटदर ४ प्रतिशतभन्दा कम रहेको छ । यस दिन सुपर मादी हाइड्रोपावरको शेयर मूल्य ३.९० प्रतिशतले घटेको छ भने सिटिजन म्युचुअल फन्ड २ को ३.०५ प्रतिशतले ओरालो लागेको छ ।
एसवाई प्यानल नेपालको शेयर मूल्यमा कमब्याक:
अघिल्लो दिन ८ प्रतिशतभन्दा बढीले घटेको एसवाई प्यानल नेपालको शेयर मूल्यमा आज सुधार देखिएको छ। यस कम्पनीको मूल्य ५.७१ प्रतिशतले बढ्नुका साथै २० करोड ६ लाख रुपैयाँ बराबरको उच्च कारोबार भएको छ ।
कारोबार रकमका आधारमा यस दिन एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन २० करोड ६ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, बन्दीपुर केबलकार एण्ड टुरिजमको साढे १७ करोडभन्दा बढीको शेयर किनबेच भएको छ भने सान्भि इनर्जीको कारोबार रकम साढे १५ करोड रुपैयाँ नाघेको छ ।