काठमाडौँ । रिज लाइन इनर्जी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज (पुस १७ गते) अन्तिम दिन हो ।
कम्पनीले गत पुस १३ गतेदेखि पहिलो चरणअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपाली र आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ खुला गरेको थियो ।
कसले कति आवेदन दिन पाउने ?
वैदेशिक रोजगारीमा रहेका नेपाली: आज बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन्। उनीहरूका लागि कुल १ लाख ४२ हजार २०० कित्ता शेयर छुट्याइएको छ।
आयोजना प्रभावित स्थानीय: गोरखा र लमजुङका तोकिएका क्षेत्रका बासिन्दाले आगामी पुस २८ गतेसम्म आवेदन दिन सक्नेछन् । स्थानीयका लागि ११ लाख ८५ हजार कित्ता शेयर सुरक्षित गरिएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल २६ लाख ७ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो।
आयोजना प्रभावित क्षेत्रहरू:
स्थानीय कोटामा निम्न क्षेत्रका बासिन्दाले आवेदन दिन योग्य हुनेछन्:
गोरखा: अजिरकोट गाउँपालिकाका सबै वडाहरू।
लमजुङ: दूधपोखरी गाउँपालिका (वडा नं. १, २ र ३) र दोर्दी गाउँपालिका (वडा नं. ४, ५ र ६)।
आवेदन प्रक्रिया:
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।
स्थानीयका लागि: प्रभु क्यापिटलको अनलाइन लिंक, गोरखास्थित आयोजना कार्यालय, प्रभु क्यापिटलको कमलादी कार्यालय, तथा प्रभु बैंकको छेपेटार र पालुङटार शाखाबाट आवेदन दिन सकिनेछ।
वैदेशिक रोजगारीमा रहेकाका लागि: आस्वा (ASBA) सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू र ‘मेरो शेयर’ (C-ASBA) प्रणालीमार्फत अनलाइन आवेदन दिन सकिनेछ।
यस कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ। पहिलो चरणको बाँडफाँड सकिएपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ।