काठमाडौँ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) आवेदन प्रक्रिया पूरा भएको छ । कम्पनीले आमसर्वसाधारण, वैदेशिक रोगगार र म्युचुअल फण्डतर्फ निष्काशित १० लाख ९८ हजार १६२ कित्ताको लागि ३ करोड ५ लाख ४० हजार २१८ कित्ता आवेदन परेको जनाएको छ, जसमा २५ अर्ब ११ करोड ४८ लाख ५१ हजार ५३२ रुपैयाँ जम्मा भएको छ ।
रिलायन्सले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै बुक बिल्डिङ विधिबाट निष्काशित आईपीओमा यति ठूलो संख्यामा आवेदन पर्नुलाई समग्र नेपाली पूँजी बजारको लागि कोशेढुंगा भनेको छ । ‘नेपालको सबैभन्दा ठूलो रोजगारदाता तथा निर्यातमूलक कम्पनीको रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिष्ठित रिलायन्स स्पिनिङ मिल्सप्रति तपाइँहरुले व्यक्त गर्नुभएको विश्वास समग्र नेपाली पूँजी बजारको लागिसमेत कोशेढुंगा सावित भएको छ,’ कम्पनीका कर्पोरेट अफेयर्स एण्ड कम्युनिकेशन्स प्रमुख ज्योति गैह्रेद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘छोटो समयावधिमै आवश्यकभन्दा अत्यधिक संख्यामा शेयरको माग गरी आईपीओ प्रक्रियामा उल्लेख्य सहभागिता जनाउनु भनेको केबल लगानी गर्ने तपाइँहरुको उत्कट चाहनामात्र होइन, कम्पनीप्रति प्रकट गर्नुभएको विश्वास, भरोसा र समर्थन पनि हो । यसले हामीलाई आगामी यात्राको लागि थप ऊर्जा र बल मिलेको छ ।’
रिलायन्सले आवेदक लगानीकर्ता, विभिन्न क्षेत्रबाट सहयोग तथा सद्भाव प्रदान गरी शेयर निष्कासन कार्यलाई सफल बनाउने शुभेच्छुक, एसबीए सदस्य बैंक तथा वित्तीय संस्थाहरु, नियामक निकायहरु, सञ्चारकर्मी र सरोकारवालालाई आगामी दिनमा पनि सहयोग र सद्भावको अपेक्षासहित धन्यवाद व्यक्त गरेको छ ।
आमसर्वसाधारणतर्फ सबैभन्दा बढी २९.९२ गुणा बढी आवेदन परेको छ । उक्त समूहतर्फ निष्काशित ९ लाख २४ हजार ७६८ कित्ता शेयरको लागि ५ लाख ३९ हजार ५४५ आवेदकले २ करोड ७६ लाख ७१ हजार १२० कित्ताको आवेदन परेका कम्पनीद्वारा आइतबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
उक्त समूहमा २२ अर्ब ७१ करोड २४ लाख ५५ हजार २९६ रुपैयाँ जम्मा भएको छ । वैदेशिक रोजगारीतर्फ १ लाख १५ हजार ५९६ कित्ताको लागि १९ लाख ४४ हजार ३३० कित्ता (१६.८२ गुणा) शेयरको आवेदन परेको छ, जसको लागि आवेदकबाट १ अर्ब ५८ करोड ५९ लाख ६ हजार ६४ रुपैयाँ जम्मा भएको छ । त्यसैगरी म्युचुअल फण्डतर्फ ५७ हजार ७९८ कित्ताको लागि ९ लाख २४ हजार ७६८ (१६ गुणा) आवेदन परेकोमा ८० करोड ६४ लाख ९० हजार १७२ रुपैयाँ जम्मा भएको छ ।
रिलायन्सले जारी पूँजी १ अर्ब ९० लाखको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको १९ लाख २६ हजार ६०० कित्ता शेयर निष्काशन गरेको छ । बुक बिल्डिङ विधिबाट प्रथम चरणमा ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता शेयर योग्य संस्थागत लगानीकर्ताको लागि बाँडफाँट भइसकेको छ ।
सर्वसाधारण समूहमा निष्काशित ६० प्रतिशत (११ लाख ५५ हजार ९६० कित्ता) मध्ये वैदेशिक रोजगारमा रहेका नेपाली नागरिक र म्युचुअल फण्ड तर्फको शेयर बाँडफाँट भइसकेको छ भने आम–सर्वसाधारण समूहतर्फको शेयर बाँडफाँटको प्रक्रियामा छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।
प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को महत्वपूर्ण चरण पूरा भएकोमा खुसी व्यक्त गर्दै अब बृहत सामूहिकता, सहकार्य र सहअस्तित्वको समृद्धि–यात्रा प्रारम्भ भएको जनाएको छ । आम–सर्वसाधारण समूहमा जारी आईपीओको आवेदन अवधि सकिएपछि आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कम्पनीले भनेको छ, ‘रिलायन्सको ३ दशक लामो गर्विलो इतिहास बृहत सामूहिकता, सहकार्य र सहअस्तित्वको समृद्ध मार्गमा अग्रसर भएको छ । स्वदेश तथा विदेशमा रहनुभएका लाखौं नेपाली नागरिकको स्वामित्व कम्पनीमा जोडिने अवस्थाले हामीलाई निकै खुसी तुल्याएको छ ।’
तीन दसकअघि स्थापित रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा लगानीकर्ताको अभूतपूर्व आकर्षण देखिनुमा उसको विश्वासिलो बिरासत र भरासिलो भविष्य, बलियो वित्तीय अवस्था र निरन्तर लाभदायी यात्रा प्रमुख कारक रहेका छन् । यो नेपालको सबैभन्दा ठूलो धागो उत्पादक र रोजगारदाता उद्योग हो । कम्पनीले आफ्नो उत्पादनको ७० देखि ७५ प्रतिशतभन्दा बढी उत्पादनहरु भारत, टर्की, भियतनाम, बेलायत लगायत मुलुकहरुमा निर्यात गर्दै आएको छ । वार्षिक ५ करोड अमेरिकी डलरको निर्यात हुन्छ । कम्पनीको मूल–उद्योग सुनसरीको खनार र शाखा उद्योग दुहबीमा रहेको छ । नेपालका प्रतिष्ठित र सफल उद्योपतिहरु पवनकुमार गोल्याण, अक्षय गोल्याण र शशिकान्त अग्रवाल कम्पनीका संस्थापक लगानीकर्ता हुन् ।
रिलायन्सको नेतृत्व हाल अक्षयले गरिरहेका छन् । अन्तर्राष्ट्रिय बजारमा समेत विशिष्ट पहिचान स्थापित गर्न सफल रिलायन्सलाई उद्योग तथा वाणिज्य क्षेत्रबाट राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाल सरकारले गत असारमा अक्षयलाई ‘महत्वपूर्ण वर्ष व्यक्ति’ (सीआईपी) बाट सम्मान गरेको थियो ।
नेपालमा कम्पनी स्थापना गर्ने र छोटो समयमै आईपीओ निष्काशन गरी सर्वसाधारणको लगानी भित्र्याएर नाफा असुल्ने प्रवृत्ति मौलाएको टिकाटिप्पणी हुने गरेको छ । रिलायन्सको हकमा भने त्यस्तो देखिँदैन । कम्पनीले जारी पूँजी १ अर्ब ९० करोडको करिब १० प्रतिशत शेयरमात्र निष्काशन गरेको छ । यसबाट तीनजना संस्थापक लगानीकर्ताहरुले कम्पनीबाट हात झिक्न खोजेको नभई आम–लगानीकर्तासँग सहकार्य गर्न खोजेको स्पष्ट हुन्छ । यसबाट रिलायन्स स्पिनिङ मिल्सले आफ्नो विश्वासिलो विरासतको जगमा सर्वसाधारण लगानीकर्ताका लागि भरासिलो भविष्य देखाएको छ ।
कम्पनीको पछिल्लो ५ वर्षको प्रतिशेयर आम्दानी (ईपीएस) को अनुपात हेर्दा वार्षिक ४० रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७७/७८ मा ५३.९१ रुपैयाँ, २०७८/७९ मा ६१.१२ रुपैयाँ, २०७९/८० मा ५४.३४ रुपैयाँ, २०८०/८१ मा २.९५ रुपैयाँ र २०८१/८२ मा २७.८७ रुपैयाँ छ । गत आर्थिक वर्षमा अघिल्लो वर्षको तुलनामा ९ ईपीएस ९ गुणा बढेको छ । २०८१/८२ को लेखापरीक्षण गरिएको वार्षिक वित्तीय विवरणमा कम्पनीको वित्तीय अवस्था निकै मजबुत देखिन्छ । मंसिर पहिलो साता सार्वजनिक गरिएको लेखापरीक्षण प्रतिवेदनअनुसार कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ४८ करोड ९३ लाख ८४ हजार ५४७ रुपैयाँ कूल नाफा गरेको छ, जब कि अघिल्लो आर्थिक वर्षमा यो अंक ८६ करोड ५० लाख ६० हजार ३२५ रुपैयाँ मात्र थियो । गत आर्थिक वर्षमा कम्पनीको खुद नाफा ४७ करोड ५८ लाख ११ हजार ९७९ रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा खुद नाफा ५ करोड ३ लाख ८३ हजार ७९३ रुपैयाँ थियो । खुद नाफामा साढे ९ गुणा बढी बृद्धि भएको छ ।
कम्पनीको रेटिङ पनि राम्रो रहेको छ । साधारण शेयर निष्काशनको लागि ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ संस्था केयर रेटिङ नेपालबाट रेटिङ गराएको छ । केयर रेटिङले कम्पनीलाई ‘केयर एनपी सिंगल ए’ इस्यूअर रेटिङ प्रदान गरेको छ । यसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न पर्याप्त क्षमता रहेको कम्पनी हो भन्ने बुझाउँछ ।
रिलायन्सको आईपीओले नेपाली पूँजीबजारमा उत्साहपूर्ण तरंग ल्याउने अर्को कारण हो, यसको आईपीओ मूल्य । कम्पनीले तीब्र आर्थिक बृद्धि गर्दासमेत दुई वर्षअघिको नाफालाई आधार मानेर तय गरिएको मूल्यमै आईपीओ निष्काशन गरेको छ । रिलायन्सले एक वर्षअघि आईपीओको मूल्य ८२० रुपैयाँ ८० पैसा तय गरेको थियो । आर्थिक वर्ष २०८०/८१ को नाफाको आधारमा उक्त मूल्य निर्धारण गरिएको थियो । उक्त आवमा कम्पनीले ५ करोड ४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ९५ पैसा थियो । गत आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले खुद नाफा ४७ करोड ५८ लाख रुपैयाँ पु¥याउँदै ८४४ प्रतिशतको छलाङ हानेको छ । प्रतिशेयर आम्दानी पनि ८४४ प्रतिशतको दरले बढेको छ । यस हिसाबले आज सहभागी हुने लगानीकर्ताहरुले पनि ८४४ प्रतिशत नाफा वृद्धि भएको कम्पनीलाई रिकभरी मूल्यमा जोड्नुअघिको सस्तो मूल्यमै शेयर पाउनेछन् ।