काठमाडौँ । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आगामी पुस २२ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर जारी गर्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डबाट पुस ६ गते प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३१ लाख कित्ता शेयर निष्कासनको अनुमति पाएको कम्पनीले सोही बमोजिम आवेदन खुला गर्न लागेको हो ।
स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई कति ?
कुल निष्कासनमध्ये १५ लाख २० हजार कित्ता आयोजना प्रभावित स्थानीयका लागि र १ लाख ५५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ ।
स्थानीय बासिन्दा (लमजुङ): ६ लाख २० हजार कित्ता मर्स्याङ्दी गाउँपालिकाको वडा नं. २ र ३ का बासिन्दाका लागि र ९ लाख ३० हजार कित्ता मर्स्याङ्दीकै वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का बासिन्दाका लागि।
वैदेशिक रोजगार: श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपालीहरूका लागि १ लाख ५५ हजार कित्ता।
आवेदन दिने समय र प्रक्रिया
आवेदन मिति: वैदेशिक रोजगारीमा रहेकाले पुस २९ सम्म र स्थानीयले माघ ६ गतेसम्म आवेदन दिन सक्नेछन् (माग बमोजिम आवेदन नपरेको खण्डमा म्याद थप हुनेछ)।
कित्ता: न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म।
कहाँबाट दिने ?
वैदेशिक रोजगारीमा रहेकाले सी–आस्वा प्रणालीमार्फत र स्थानीयले प्रभु, ग्लोबल आइएमई, कृषि विकास, प्राइम र हिमालयन बैंकका तोकिएका शाखाहरूबाट आवेदन दिन सक्नेछन्।
जोखिम र बिक्री प्रबन्धक
केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयर एनपी डबल बी इस्यूअर’ रेटिङ दिएको छ, जसले वित्तीय दायित्व वहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।