
काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शतप्रतिशत लगानीमा स्थापित आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको दशौं वार्षिक साधारण सभा (एजीएम) मिति २०८२ असोज ३१ गते सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । कम्पनीको चुक्ता पुँजी २० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने ४ करोड रुपैयाँ नगद लाभांश वितरण गरिनेछ ।
कम्पनीका अध्यक्ष सरस्वती अधिकारीले सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । सभामा कुल शेयरको शतप्रतिशत प्रतिनिधित्वसहित गणपूरक संख्या पूरा भएको थियो ।
साधारण सभाबाट पारित मुख्य प्रस्तावहरू:
साधारण सभाले निम्न सामान्य र विशेष प्रस्तावहरू पारित गरेको छ:
-आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन अनुमोदन ।
-सिन्हा एण्ड को. चार्टर्ड एकाउन्टेण्ट्सका सीए श्री सन्जय कुमार सिन्हा कायस्थलाई आर्थिक वर्ष २०८१/८२ को बाह्य लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्ताव अनुमोदन।
-आ.व. २०८१/८२ को वासलात, नाफारनोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने।
आ.व. २०८२/८३ को लागि बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने।
कम्पनीको सञ्चालक तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने।
कुल ५३% लाभांश वितरणको सफलता:
आरविवि मर्चेन्ट बैंकिङ्गले व्यवस्थापन गरेको सामूहिक लगानी कोष योजनाहरूले समेत आकर्षक प्रतिफल दिन सफल भएका छन् । आ.व. २०८१/८२ मा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित:
आरविवि म्युचुअल फण्ड १ ले २० प्रतिशत, आरविवि म्युचुअल फण्ड २ ले १३ प्रतिशत, र आरविवि मर्चेन्ट बैंकिङ्गले २० प्रतिशत गरी जम्मा ५३ प्रतिशतले हुन आउने करिब ४० करोड रुपैयाँ बराबरको नगद लाभांश (कर सहित) वितरण गर्न सफल भएको जानकारी गराइएको छ ।
उपस्थिति:
साधारण सभामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनाल प्रमुख अतिथिको रूपमा र नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईं विशेष अतिथिको रूपमा उपस्थित थिए ।
साथै, राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधि, कम्पनीका सञ्चालकहरू, महालेखा परीक्षकको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालयका प्रतिनिधिहरू तथा व्यवस्थापन तहका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी शेयर रजिष्ट्रार, लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूतिकर्ता, हितग्राही खाता, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक र सामूहिक लगानी कोष योजना व्यवस्थापकको रूपमा कार्य गर्दै आएको छ ।