
काठमाडौँ । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो साधारणसभा आह्वान गरेको छ । कम्पनीले आगामी कार्तिक २३ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
कम्पनीको सभामा मुख्यगरी लाभांश वितरणसहित विभिन्न ८ वटा प्रस्तावहरू पेश हुनेछन् ।
१५ प्रतिशत लाभांशको प्रस्ताव:
कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल लघुवित्तको चुक्ता पुँजी ११ करोड ५८ लाख रुपैयाँ रहेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ ।
बुक क्लोज र शेयरधनी:
कम्पनीले साधारणसभा प्रयोजनका लागि कार्तिक १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । तसर्थ, कार्तिक १३ गतेसम्म कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।
सभामा पेश हुने मुख्य प्रस्तावहरू:
साधारणसभामा निम्न ८ प्रस्तावहरू पेश हुनेछन्:
साधारण प्रस्ताव
१. सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेस गर्नुहुने आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, आ.व. २०८१/८२ को नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र वित्तीय विवरणहरू छलफल गरी पारित गर्ने ।
३. कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आ.व. २०८२/८३ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
४. सञ्चालक समितिले सिफारिस गरेबमोजिम आ.व. २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजीको ०.७५ प्रतिशतले हुन आउने रु. ८ लाख ६८ हजार ८७१ (कर प्रयोजनार्थ) नगद लाभांश स्वीकृत गर्ने ।
५. संस्थापक शेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालक नियुक्त गर्ने ।
विशेष प्रस्ताव
६. सञ्चालक समितिबाट सिफारिस भएबमोजिम आ.व. २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट हालको चुक्ता पुँजीको १४.२५ प्रतिशतले हुने रकम बराबरको बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने ।
७. प्रस्तावित बोनस शेयर बराबर संस्थाको जारी तथा चुक्ता पुँजी वृद्धि गर्न वित्तीय संस्थाको प्रबन्धपत्रको दफा ६ (ख) र ६ (ग) संशोधन गर्ने प्रस्ताव पारित गर्ने ।
८. नियमनकारी निकायले प्रबन्धपत्र र नियमावलीमा फेरबदल गर्न निर्देशन दिएमा सोअनुरूप आवश्यक संशोधन वा परिमार्जन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने ।