काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरणमा अर्बौं रुपैयाँको भ्रष्टाचार हुन लागेको भन्दै सभामुखसँग छानबिनका लागि आग्रह गरेका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलको नेताका हैसियतमा बोल्दै अध्यक्ष दाहालले विचौलियाहरूको सेटिङमा ठूलो नीतिगत भ्रष्टाचार हुन लागेको आरोप लगाए ।
अध्यक्ष प्रचण्डले भने, “अहिले फेरि नयाँ स्टक एक्सचेन्जका लागि निक्कै ठूलो चलखेल भइरहेको छ । के अहिलेको सरकार लाइसेन्स लिन तयार रहेका कम्पनीहरूको प्रक्रिया रोकेर भ्रष्टाचार रोक्न तयार छ ? सम्माननीय सभामुख महोदय, यो प्रश्न निकै गम्भीर छ । र म यो सम्मानित सदन समक्ष अहिलेको प्रक्रिया रोकेर, भ्रष्टाचार रोकेर नयाँ लाइसेन्स वितरणको प्रक्रिया अघि बढाउन आग्रह गर्छु ।”
सरकारमाथि विचौलियाको प्रभावको आरोप
दाहालले सार्वभौम संसदलाई पनि विचौलियाहरूको खेल मैदान बनाउन लागिएको आरोप लगाए । उनले थपे, “यो दुर्भाग्यपूर्ण छ । गत वर्ष मैले विश्वासको मत लिने क्रममा मैले भनेको थिएँ । त्यतिबेला मलाई सत्ता छाड्दाको पीडा पोख्यो भनेर भनियो । तर अहिले यो एक वर्षमा सरकारले विचौलियाहरूको नाममा जे-जे काम गरे। सरकार दलाल र विचौलियाको पक्षमा छ भन्ने आम नागरिक र सत्तारुढ दलकै नेताहरूको भाषा बन्न पुगेको छ । प्रधानमन्त्रीको बेडरुमसम्म विचौलियाहरू पुगेको कुरा आज आम जनतालाई थाहा भइसकेको छ ।”
संसदीय समितिबाट पारित भएको विधेयकमा समेत विचौलियाहरूले चलखेल गरेको विषय सत्ताका जिम्मेवार नेताहरूले नै भन्न थालेको र गठबन्धनको औचित्यमाथि प्रश्न उठ्न थालेको प्रचण्डको भनाइ छ । उनले विचौलियाहरूको रातारात अर्बौंको सेटिङ भत्काउन खोज्दा आफू नेतृत्वको सरकार ढलेको पनि दाबी गरे ।
अन्य भ्रष्टाचारका घटनामाथि प्रश्न
अध्यक्ष दाहालले सुशासन कायम गर्न सक्षम देखिएका नियामक निकायहरूलाई समेत दलाल र विचौलियाहरूको तजबिजमा चलाइएको आरोप लगाए । त्यस्ता संस्थाहरूको नियुक्तिमा भएको चलखेल, हाकाहाकी भएको कमिसनको डिल र विचौलियाकै इशारामा भएका कार्यहरूले यस सरकारको उद्देश्य र चरित्र आम जनतामा थप स्पष्ट भएको उनको भनाइ थियो ।
भुटानी शरणार्थी प्रकरण, जग्गा काण्ड, विद्युत बक्यौता नतिर्नेहरूको संरक्षण, मेरिटोक्रेसी भत्काउने काम र सरुवामा लाखौंको डिल भएका विषयहरू सार्वजनिक भइरहेको उनले औंल्याए ।
अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सीधा प्रश्न गर्दै भने, “सम्माननीय प्रधानमन्त्रीज्यूकै पार्टीले सडकमा आन्दोलन गराएर रोकेको हतियार खरिदको प्रक्रिया कसको इशारामा अघि बढाइयो ? म प्रधानमन्त्रीज्यूको जवाफ चाहन्छु ।”