लगातार छैटौं दिन नेप्से उकालो लाग्यो, साढे ९ अर्बको कारोबार

काठमाडौँ । सेयर बजार लगातार छैटौं कारोबार दिन पनि उकालो लागेको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.४० अंकले बढेर २७०६.३६ विन्दुमा कायम भएको छ। यसअघिका पाँच कारोबार दिन पनि नेप्से लगातार बढेको थियो ।

आइतबार नेप्सेमा कुल ९ अर्ब ५० करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा ९ अर्ब ६४ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबार रकमका आधारमा यस दिन नेपाल रि इन्स्योरेन्स कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको यस दिन ४९ करोड ४० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ । त्यसैगरी, यस दिन लक्ष्मी सनराइज बैंकको संस्थापक शेयर ३७ करोड ८१ लाख रुपैयाँको किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्सको ३४ करोड २४ लाख भन्दा बढीको शेयर कारोबार भएको छ ।

यस दिन नेपाल फाइनान्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सो फाइनान्सको शेयरमूल्य यस दिन ६९ रुपैयाँ ४० पैसा बढेर ७६३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । त्यस्तै, यस दिन गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ । त्यसैगरी, १२ प्रतिशत गुडविल फाइन्स डिवेञ्चरको मूल्य ८.८७ प्रतिशतले, ग्रिन डेभलपमेन्ट बैंकको शेयर मूल्य ८.५८ प्रतिशतले घटेको छ भने सिन्धु विकास बैंकको शेयर मूल्य ५.८१ प्रतिशतले घटेको छ ।

कम्पनीगत प्रदर्शन र उपसमूहको अवस्था

आइतबार कारोबारमा आएकामध्ये ८७ कम्पनीको सेयर मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ ।

नेपाल फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । गार्डीयन माइक्रो लाइफ इन्स्योरेन्सको सेयर मूल्य ७.३५ प्रतिशतले बढेको छ ।

विकास बैंक समूहमा १.४९ प्रतिशतको गिरावट आउँदा फाइनान्स समूहमा २.१६ प्रतिशतको सुधार आएको छ ।  गत असार १५ गतेदेखि बढ्न थालेको सेयर बजार छैटौं कारोबार दिनसम्म लगातार बढेको छ। यस अवधिमा नेप्से सूचक ११० अंकले उकालो लागेको हो।

१३ उपसमूहमध्ये यस दिन ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । यस दिन अन्य परिसूचक सर्वाधिक ३.०६ प्रतिशत बढेको छ । त्यस्तै, वित्त उपसमूहको परिसूचक २.४९ प्रतिशतले बढेको हो । बैंकिङ, लगानी, उत्पादन तथा प्रशाेधन, व्यापार समूहको सूचक सकारात्मक छ । यस दिन विकास बैंक, हाईड्रोपावर र जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १ प्रतिशत भन्दा बढीले घटेको हो।

मौद्रिक नीतिको प्रभाव र लगानीकर्ताको आशा

नेप्से सूचकसँगै कारोबार रकम पनि क्रमिक रूपमा वृद्धि हुँदै गएको छ। नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीति निर्माणका लागि छलफलको क्रमलाई तीव्रता दिइरहेको बेला सेयर बजार सकारात्मक लयमा देखिनुले लगानीकर्ता मौद्रिक नीतिप्रति आशावादी रहेको स्पष्ट हुन्छ ।

नेपाल राष्ट्र बैंकले गत शुक्रबार मात्रै आगामी मौद्रिक नीतिका बारेमा सरोकारवालाहरूसँग छलफल गरेको थियो। साथै राष्ट्र बैंकले सरोकारवालाहरूको सुझाव सङ्कलनको क्रमलाई पनि जारी राखेको छ। आइतबार पनि नेपाल आर्थिक पत्रकार समाज (सेजन) को आयोजनामा आगामी मौद्रिक नीतिबारे अन्तरक्रिया आयोजना गरिएको थियो।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै