
काठमाडौँ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आज (असार २२, २०८२ गते) देखि सामूहिक लगानी कोष ‘ग्लोबल आइएमई समुन्नत योजना २’ को इकाई सार्वजनिक निष्काशनमा ल्याउँदैछ।
योजनाको विवरण र इकाई विनियोजन
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याउन लागेको हो। ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यो योजना १० वर्षे बन्दमुखी प्रकृतिको हो।
निष्कासन गरिने कुल १२ करोड इकाईमध्ये:
१.५ प्रतिशत (१८ लाख इकाई) योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटललाई छुट्याइएको छ।
१३.५० प्रतिशत (१ करोड ६२ लाख इकाई) बीज पुँजी (seed capital) को रूपमा राखिनेछ।
बाँकी १० करोड २० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ।
यो योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्।
आवेदन दिने समय र प्रक्रिया
योजनाको इकाईमा असार २५ गतेसम्म आवेदन दिन सकिनेछ। यदि उक्त समयमा सबै इकाई बिक्री नभएमा साउन ४ गतेसम्म आवेदन खुला रहने क्यापिटलले जनाएको छ।
योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड नै रहेको छ। लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्। यसका साथै, सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि-आस्बा प्रणालीमार्फत पनि आवेदन दिन सकिनेछ।
रेटिङ्ग जानकारी
म्युचुअल फण्ड निष्कासनका लागि गराइएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले कोष प्रवर्द्धकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ‘ए माइनस’ प्रदान गरेको छ। यस्तै, योजना व्यवस्थापकलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्गले आईआरएन एएमसी क्वालिटि ‘३ प्लस’ रेटिङ्ग प्रदान गरेको छ।