
काठमाडौँ । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर मूल्य बुधबार समायोजन भएको छ । इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
मूल्य समायोजन भएसँगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ५६६.६२ रुपैयाँ कायम भएको छ । जसको आधार मूल्य प्रतिकित्ता ६१२.२८ रुपैयाँ थियो । यससँगै बिहीबार समायोजित मूल्यलाई आधार मानेर युनाइटेड अजोड इन्स्योरेन्सको दोस्रो बजारमा कारोबार खुल्नेछ ।
यससँगै अब बुकक्लोजका दिन (असार १८ गते) सम्म कायम रहेका सेयरधनीहरूले कम्पनीले प्रस्ताव गरेको १०% बोनस सेयर प्राप्त गर्न योग्य भएका छन् । कम्पनीको आगामी ३१औँ वार्षिक साधारणसभाले यो लाभांश प्रस्तावलाई अनुमोदन गर्नेछ ।
कम्पनीले आफ्नो ३१औँ वार्षिक साधारणसभा असार ३० गते आयोजना गर्दैछ। यो सभाले गत आर्थिक वर्ष २०८०/८१ का लागि हालको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको कुल १०.५२६३ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । यसमा लगानीकर्ताले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्राप्त गर्नेछन् ।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ पुग्नेछ । यसपछि, कम्पनीले यो बढेको चुक्ता पुँजीको १० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित गर्नेछ । यस हकप्रद सेयर निष्कासनपश्चात युनाइटेड अजोड इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५४ करोड १० लाख रुपैयाँ पुग्नेछ, जुन नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरूका लागि तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँभन्दा बढी हो ।