घट्दो बजारमा जलविद्युतकाे दबदबा, लगानीकर्ता मौद्रिक नीतिको पर्खाइमा

काठमाडौँ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सूचकमा गिरावट आए पनि जलविद्युत् उपसमूहले कारोबार रकममा भने आफ्नो दबदबा कायम राखेको छ। नेप्से घट्दा पनि सर्वाधिक कारोबार हुने र कमाउने तथा गुमाउने कम्पनीको सूचीमा जलविद्युत् कम्पनीहरू नै अगाडि रहेका छन्।

यो साता कारोबारमा आएका ५४ कम्पनीको सेयर मूल्य बढेको छ भने १९५ कम्पनीको मूल्य घटेको छ । कारोबार रकमका आधारमा पनि जलविद्युत् कम्पनी नै अघि रहे । मुख्य १० कम्पनीमा जलविद्युत् नै उच्च रहेको नेप्सेले जनाएको छ ।

कारोबार रकमका आधारमा अघि रहेका कम्पनीहरूमा बुटवल पावर कम्पनी:२ अर्ब ६० करोड ८८ लाख, राधी विद्युत् कम्पनी: १ अर्ब ८९ करोड ९७ लाख, ङादी ग्रुप पावर: १ अर्ब ४५ करोड ९८ लाख, सानिमा माई हाइड्रोपावर: १ अर्ब ३६ करोड ८ लाख, सिंगटी हाइड्रोपावरः १ अर्ब २३ करोड ६२ लाख, दोर्दी खोला जलविद्युत्ः ९९ करोड ८८ लाख, हिमालयन पावर पार्टनरः ९७ करोड ४९ लाख, युनिभर्सल पावर कम्पनी: ९२ करोड ५९ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट: ८८ करोड २५ लाख र युनियन हाइड्रोपावर: ७९ करोड २ लाख रहेकाे छ ।

यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचकमा ३३ अंकको गिरावट आएको छ। साताको पहिलो दिन आइतबार २६८१.९१ अंकमा खुलेको नेप्से बिहीबार कारोबार बन्द हुँदा २५९५.७४ अंकमा झरेको हो। नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ५.५ अंकले घटेको छ।

यो साताभरि नेप्सेमा कुल ३५ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो साता कुल ८ करोड ६३ लाख ६२ हजार ४६४ कित्ता सेयर किनबेच हुँदा ३५ अर्ब १० करोड ८८ लाख रुपैयाँको कारोबार भएको छ । सर्वाधिक रकम बराबर सेयर कारोबार हुने कम्पनीमा बुटवल पावर कम्पनी रहेको छ, जसको २ अर्ब ६० करोड रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भएको छ ।

साताभरि नेप्से ३३ अंकले घट्यो, दुई विकास बैंकको सेयर मूल्यमा भने उछाल

कारोबारमा जलविद्युतकाे वर्चस्व

अघिल्ला सातामा जस्तै यस साता पनि सेयर बजारमा जलविद्युत् कम्पनीहरूकै वर्चस्व रह्यो । यो साता सेयर कारोबार मापक नेप्से परिसूचक ३३.१७ अंकले घट्दा जलविद्युत् उपसमूह ७४.२५ अंकले घट्यो ।

नेपाल स्टक डटकम ( नेप्से) का अनुसार, यो साता जलविद्युत् कम्पनीहरूको मात्रै २३ अर्ब १२ करोड ५० लाख रुपैयाँ को कारोबार भएको छ । यसले घट्दो बजारमा पनि लगानीकर्ताको आकर्षण जलविद्युत् क्षेत्रमा कायम रहेको देखाउँछ ।

साताको मुख्य १० कम्पनीको कारोबार सूचीमा ८ वटा जलविद्युत् कम्पनी रहेका छन्, भने दुईवटा मात्र विकास बैंक परेका छन्। यसबाट जलविद्युत् कम्पनीहरूमा ठूलो मात्रामा सेयर किनबेच भइरहेको स्पष्ट हुन्छ।

मौद्रिक नीतिको प्रतीक्षा र लगानीकर्ताका माग

पछिल्ला दिनमा नेप्सेले अपेक्षित रूपमा उकालो लाग्न सकेको छैन। यसै सन्दर्भमा, सेयर लगानीकर्ताका संघसंस्थाहरूले राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेललाई भेटेर आगामी मौद्रिक नीतिमा पुँजीबजारमैत्री नीतिगत व्यवस्था गर्न आग्रह गरेका छन्।

लगानीकर्ताहरूले गभर्नरसँग निम्न मुख्य मागहरू राखेका छन्:

१५ करोडको व्यक्तिगत सेयर कर्जाको सीमा हटाउनुपर्ने।

लघुवित्तले १५ प्रतिशतभन्दा बढी लाभांश दिन नपाउने व्यवस्था परिमार्जन गर्नुपर्ने।

बैंक तथा वित्तीय संस्थाले सेयर बजारमा लगानी गर्न पाउने सीमा परिमार्जन गर्नुपर्ने।

गभर्नर पौडेलले आगामी मौद्रिक नीतिमा यी मागहरू समावेश गर्ने आश्वासन दिएको लगानीकर्ताहरूले बताएका छन्, जसले बजारमा केही सकारात्मक अपेक्षा सिर्जना गरेको छ।

लगानीकर्ताको मनोबल र बजारको प्रवृत्ति

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष धर्मराज सापकोटाका अनुसार, अर्थतन्त्र पूर्ण रूपमा चलायमान नहुँदा लगानीकर्ताहरूमा ‘कन्फिडेन्स’ नबढेकाले सेयर बजार उकालो लाग्न सकेको छैन। सापकोटाले भने, “दुई वर्षअघि अर्थतन्त्रलाई सुरक्षित बनाउने आयातमा प्रतिबन्ध लगाउनेलगायत नीति सरकारले लियो, अर्थतन्त्र ‘सेफ ल्यान्डिङ’ आयो, अहिले ‘सेफ जोन’ बाट अघि बढ्दा र सबै सकारात्मक हुँदासमेत बजारले नीतिगत सहजता खोजिरहेको थियो, तर आउँदै आएन । त्यसले लगानीकर्तामा ‘फ्रस्ट्रेसन’ बढ्यो।”

उनका अनुसार, सबै सूचकहरू सकारात्मक भए पनि लगानीकर्तामा आत्मविश्वासको कमी हुँदा बजार बढ्न सकेको छैन । लगानीकर्ताहरू थोरै नाफा भए पनि बुक गर्ने वा साँवामा आउँदा पनि बजारबाट निस्कने सोचमा छन्, जसले बजार बढ्न थालेपछि ‘सप्लाई प्रेसर’ बढाउँछ । सापकोटाले सेयर बजार बढ्ने सबै आधार बनिसकेको र अर्थतन्त्रका अन्य क्षेत्रहरू पनि चलायमान भएमा लगानीकर्तामा आत्मविश्वास बढ्ने र बजार माथि जाने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै