साढे ५८ अर्बको धितोपत्र सूचीकृत, सवा ३४ अर्बको निष्कासन अनुमति

बोनस सेयर २१ अर्बभन्दा बढी, साधारण सेयर निष्कासनका लागि साढे २० अर्बको अनुमति

काठमाडौँ । पछिल्लो १० महिनामा करिब ५८ अर्ब ४३ करोड रुपैयाँ बराबरको थप धितोपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको वैशाख मसान्तसम्मको मुलुकको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत साउनदेखि वैशाख मसान्तसम्मको समीक्षा अवधिमा सूचीकृत भएका कुल धितोपत्रमध्ये २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर रहेको छ। त्यसैगरी, २० अर्ब ३८ करोड बराबरको साधारण सेयर (आईपीओ) र ११ अर्ब ६५ करोड बराबरको हकप्रद सेयर सूचीकृत भएका छन् ।

यस अवधिमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, १० करोड ६९ लाख बराबरको फर्दर पब्लिक अफरिङ (एफपीओ) र ३ अर्ब ९६ करोड बराबरका अन्य सेयरहरू समेत नेप्सेमा सूचीकृत भएका छन् ।

यता, समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कुल ३४ अर्ब ५ करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। यसमा १३ अर्ब १९ करोड बराबरको हकप्रद सेयर निष्कासनका लागि अनुमति प्रदान गरिएको छ ।

यस्तै, सेबोनले ११ अर्ब ८० करोड बराबरको म्युचुअल फन्ड, ६ अर्ब ८२ करोड बराबरको डिबेन्चर (ऋणपत्र) र २ अर्ब २४ करोड बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्न पनि अनुमति दिएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै