
काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपालको सेयर बजारमा होटल तथा पर्यटन उपसमूहका कम्पनीहरूमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । अन्य उपसमूहको परिसूचकमा सामान्य वृद्धि हुँदा यस उपसमूहको परिसूचक भने साढे ४ प्रतिशतभन्दा बढीले बढेको छ ।
यस उपसमूहमा सूचीकृत सबै ६ वटै कम्पनीहरूको सेयरमूल्य बढेकाले परिसूचकमा उच्च वृद्धि भएको हो । यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ८ वटाको परिसूचक बढेको छ भने ५ वटाको घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक १.२२ प्रतिशतले घटेको छ ।
नेप्सेमा सामान्य वृद्धि, कारोबार रकममा भने उछाल
सोमबार पनि नेप्से परिसूचक सामान्य अंकले बढेर २६५८.६६ विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिन आइतबार ०.४७ अंकले बढेको नेप्से यस दिन २.८० अंकले उकालो लागेको हो । यद्यपि, फ्लोट इन्डेक्स ०.१५ अंकले बढेको छ भने सेन्सेटिभ इन्डेक्स ०.२५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.०६ अंकले घटेका छन् ।
नेप्सेमा सामान्य वृद्धि भए पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि भएको छ। आइतबार करिब ११ अर्ब ५० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा सोमबार ३१८ वटा कम्पनीका स्टकहरूको १ लाख ५ हजार ६३५ पटकको कारोबारबाट १३ अर्ब १८ करोड ६९ लाख ४५ हजार रुपैयाँ बराबरको ३ करोड ३६ लाख ३७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
सर्किट लेभलमा दुई कम्पनी, सर्वाधिक कारोबार सानिमा माइ हाइड्रोको
यस दिन पियोर इनर्जी र पिपुल्स पावरको सेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । पियोर इनर्जी दोस्रो बजारमा सूचीकृत भएदेखि निरन्तर बढिरहेको कम्पनी हो भने पिपुल्स पावर ५० प्रतिशत हकप्रद सेयर समायोजन भएर कारोबारमा आएको कम्पनी हो । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य करिब साढे ८ प्रतिशतले बढेको छ । यद्यपि, कारोबारमा आएको अप्पर हेवाखोला हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक साढे ७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ, जसको ९५ करोड १६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो । त्यस्तै, ङादी ग्रुप पावरको करिब ९० करोड ५० लाख रुपैयाँ र बुटवल पावर कम्पनीको ५८ करोड ५० लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ ।