झिनो अंकले बढ्यो नेप्से, कारोबार रकममा भने गिरावट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्से यस दिन भने सामान्य वृद्धि भएको हो।

आइतबार नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा पुगेको छ। यद्यपि, सेन्सेटिभ इन्डेक्स ०.६७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१३ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.३० अंकले घटेका छन्।

कारोबार रकममा कमी

नेप्सेमा सामान्य सुधार देखिए पनि यस दिन कारोबार रकममा भने गिरावट आएको छ। गत बिहीबार साढे १२ अर्ब रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा आइतबार ३०८ स्टकको ९५ हजार ३७४ पटकको कारोबारमा ११ अर्ब ४४ करोड ३२ लाख ७२ हजार रुपैयाँ बराबरको २ करोड ५३ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

कुन कम्पनीको शेयर बढ्यो, कुन घट्यो?

यस दिन ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, बरुण हाइड्रोपावरको शेयरमूल्य करिब १० प्रतिशतले बढेको छ भने युनियन हाइड्रोपावरको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।

कारोबारमा आएकामध्ये नेपाल हाइड्रो डेभलोपर्सको शेयरमूल्य भने करिब साढे ४ प्रतिशतले घटेको छ।

उच्च कारोबार भएका कम्पनी र उपसमूहको अवस्था

कारोबार रकमका आधारमा यस दिन सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। यस कम्पनीको ८९ करोड १ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, ङादी ग्रुप पावरको ८७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने बुटवल पावर कम्पनीको कारोबार रकम साढे ६४ करोड नाघेको छ ।

नेप्सेमा रहेका १३ उपसमूहमध्ये यस दिन ५ उपसमूहको परिसूचक बढेको छ भने ८ उपसमूहको परिसूचक घटेको छ। उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.४७ प्रतिशतले बढेको छ। त्यस्तै, व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ। यस दिन बैंकिङ, वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक भने सामान्य घटेका छन्।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै