
काठमाडौँ । यस साता १.९६ प्रतिशतले घटेको सेयर बजार यो साता ०.५६ प्रतिशतले बढेको छ । साताको अन्त्यमा नेप्से परिसूचक २६४० अंकबाट बढेर २६५५ अंकमा कायम भएको छ । यो साता पाँचै दिन सेयर कारोबार उच्च रह्यो ।
साताभरको बजार गतिविधि:
आइतवार (जेठ २५): बजार ११.०६ अंकले घट्यो।
सोमवार: २३.१९ अंकले बढ्यो।
मंगलवार: २५.०७ अंकले बढ्यो।
बुधवार: १३.६९ अंकले घट्यो।
बिहीवार: ९.०८ अंकले घट्यो।
यो साता कारोबार रकममा पनि उल्लेख्य वृद्धि देखिएको छ । आइतवार ९ अर्ब १३ करोड रुपैयाँको कारोबार भएकोमा, सोमवार ८ अर्ब ६८ करोड, मंगलवार १० अर्ब १६ करोड, बुधवार ९ अर्ब ९० करोड र बिहीवार १२ अर्ब ५१ करोड रुपैयाँको कारोबार भयो । बिहीवारको कारोबार रकम गत फागुन २० यताकै उच्च हो।
हाइड्रोपावरमा किन बढ्यो आकर्षण ?
यो साता सेयर बजारमा हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण बढेको छ । यो समूह सबैभन्दा धेरै ५.५३ प्रतिशतले वृद्धि भयो। साताभर मूल्य धेरै बढेका १० कम्पनीमध्ये ९ वटा हाइड्रोपावर कम्पनीहरू रहेका छन् ।
गत साता समग्र बजार १.९५ प्रतिशतले घट्दा पनि हाइड्रोपावर समूह जम्मा ०.६० प्रतिशत मात्रै घटेको थियो । बजार जानकारहरूका अनुसार, यो क्षेत्रका कम्पनीहरूको वित्तीय स्थिति अन्य कम्पनीहरूको तुलनामा सुधारोन्मुख हुँदै गएकाले लगानीकर्ताहरू आकर्षित भएका हुन् । यसले गर्दा हाइड्रोपावर सेक्टरमा सकारात्मक प्रभाव परेको देखिन्छ ।
आन्तरिक राजनीतिक अस्थिरता र अन्तर्राष्ट्रिय बजारको उतारचढावले लगानीकर्तामा सतर्कता ल्याएको छ । यदि बजारले २,६५० अंकको समर्थन स्तर कायम राख्न सक्छ भने, केही सुधारको सम्भावना रहेको छ। तर, आगामी दिनहरूमा नियामक परिवर्तन र आन्तरिक राजनीतिक स्थिरताले बजारको दिशा निर्धारण गर्नेछ ।