
काठमाडौँ । पछिल्लो समय शेयर बजारमा हाइड्रोपावर समूहमा लगानीकर्ताको उल्लेखनीय आकर्षण देखिएको छ । सोमबार मात्रै कुल कारोबार ८ अर्ब ६८ करोड रुपैयाँमध्ये ५७.२० प्रतिशत अर्थात् ४ अर्ब ९६ करोड रुपैयाँ बराबरको कारोबार हाइड्रोपावर कम्पनीहरूकाे मात्र शेयर काराेबार भएको छ ।
यसै दिनको टप १० गेनर सूचीमा ९ वटा कम्पनी हाइड्रोपावर समूहका थिए, जसले लगानीकर्ता आकर्षणको सशक्त संकेत दिन्छ ।
‘टेक एन्ड पे’ नीतिको प्रभाव
नयाँ बजेटमा नयाँ हाइड्रोपावर कम्पनीका लागि ‘टेक एन्ड पे’ नीति लागू गर्ने घोषणापछि प्रारम्भिक चरणमा केही गिरावट देखिए पनि हाल फेरि शेयर मूल्यमा सुधार देखिएको छ ।
नेपालका स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (IPPAN) का उपमहासचिव प्रकाश दुलालका अनुसार, यो नीति सिर्फ नयाँ परियोजनाहरूमा लागू हुने भएकोले पहिले नै सूचीकृत कम्पनीहरूलाई प्रभाव नपर्ने स्पष्ट पारे।
ब्याजदरमा गिरावटले हाइड्रोपावर कम्पनीलाई फाइदा
बैंकहरूको बेस रेट एकल अंकमा झरेको छ, जसले हाइड्रोपावर कम्पनीहरूको ऋण लागत घटाएको छ । अघिसम्म १४–१५ प्रतिशत ब्याज तिर्दै आएका कम्पनीहरू अहिले ८ प्रतिशतको हाराहारीमा मात्रै ऋण भुक्तानी गरिरहेका छन् ।
इप्पानका उपमहासचिव दुलालका अनुसार, हाइड्रोपावर परियोजनामा औसत ३०% स्वपूँजी र ७०% बैंक ऋण रहने भएकाले ब्याजदर घट्नुले नाफामा प्रत्यक्ष सकारात्मक प्रभाव पारेको छ।
नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल भन्छन्: “बजार घट्नु पर्ने कुनै विशेष कारण छैन, तर बढ्नुपर्ने धेरै कारणहरू छन्। राष्ट्र बैंकमा नयाँ गभर्नर आएपछि मार्जिन कर्जाको जोखिम भार घटाइएको, बैंकमा तरलता प्रशस्त रहेको, र ब्याजदर न्यून भएकाले बजारमा सुधार देखिएको हो।”
बजार सुधारको अन्य कारणहरू
पुँजीगत लाभकर बढ्ने आशंका हटेको
‘टेक एन्ड पे’ नीति नयाँ आयोजनामा मात्र सीमित हुने स्पष्ट भएको
राजतन्त्रसम्बन्धी आन्दोलनहरूमा कुनै निर्णायक नयाँ कार्यक्रम घोषणा नभएको
वर्षा समयमै सुरु भएकाले बिजुली उत्पादन वृद्धि
ढकालका अनुसार, चर्को घाम र समयमै वर्षा सुरु हुनाले ‘रन अफ रिभर’ मोडलका हाइड्रोपावरहरूबाट उत्पादित बिजुली बढेको छ, जसले नाफा बढ्ने संकेत दिँदै लगानीकर्ताको आत्मविश्वास थप बढाएको हो।
हालको आर्थिक र मौसमी परिवेशले हाइड्रोपावर कम्पनीहरूको ब्याज लागत घटाएको, बिजुली उत्पादन बढाएको, र नीतिगत स्पष्टता दिएको छ । यही कारणले लगानीकर्ताहरू पुनः हाइड्रोपावर समूहमा झुम्मिन थालेका छन् ।