
काठमाडौँ । नेपाल फाइनान्सले करिब ११ लाख कित्ता शेयर बिक्रीमा राखेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हकप्रद सेयर बिक्री खुला गरेकोमा त्यतिबेला बिक्री नभएको शेयर लिलामी प्रक्रिया मार्फत बिक्रीमा राखिएको हो ।
संस्थापक समूहको १० लाख ९० हजार ३७१.१८७ कित्ता शेयर आज जेठ ११ गतेबाट इच्छुक व्यक्ति तथा संस्थाले खरिदका लागि बोलपत्र पेस गर्न सक्नेगरी बिक्रीमा राखिएको छ ।
यस सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । शेयर खरिदका लागि असार १ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।
इच्छुक व्यक्ति तथा संस्थाले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको काठमाडौं कमलादीस्थित कार्यालयका साथै नेपाल फाइनान्सको केन्द्रीय कार्यालय कमलादी, शाखाहरु बनेपा, माछापुच्छ्रे, लगनखेल र तिलोत्तमा र प्रभु बैंकका शाखाहरु विराटनगर, वीरगन्ज, पोखरा, नेपालगन्ज, सुर्खेत र धनगढीमा बोलपत्र पेस गर्न सक्नेछन् ।