काठमाडौँ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको नाफा संचित राख्ने र लाभांश वितरण नगर्ने प्रस्ताव गरेको हो । यससँगै विगतमा आकर्षक लाभांश दिँदै आएको यस लघुवित्तका लगानीकर्ताहरू यसपटक भने रित्तो हात हुने भएका छन् ।
सञ्चालक समितिले लाभांश वितरण नगर्ने निर्णयसहितको वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेस गर्ने निर्णय गरेको छ राष्ट्र बैंकबाट वित्तीय विवरण स्वीकृत भएर आएपछि कम्पनीलाई वार्षिक साधारण सभा (AGM) बोलाउने बाटो खुल्नेछ ।
लघुवित्त क्षेत्रमा बढ्दो खराब कर्जा (NPL) र कसिलो मौद्रिक नीतिका कारण धेरैजसो लघुवित्तहरूले यसपटक लाभांश क्षमता गुमाएका वा संचित गर्ने नीति लिएका छन् । फरवार्डको यो निर्णयले दोस्रो बजारमा कम्पनीको सेयर मूल्यमा केही प्रभाव पार्न सक्ने विश्लेषकहरूको अनुमान छ ।