काठमाडौँ । यदि तपाइले सामुदायिक लघुवित्त वित्तीय संस्थाबाट लाभांशको आश गर्नुभएको थियो भने, यो वर्ष पनि तपाईको हात खाली हुने भएको छ।
संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
पुस १६ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने प्रस्ताव पारित गरेको हो । संस्थाले लाभांश नबाँड्ने गरी तयार पारिएको वित्तीय विवरण स्वीकृतिका लागि अब नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको छ।
योसँगै सामुदायिक लघुवित्तका लगानीकर्ताहरूले लगातार तेस्रो वर्ष पनि कुनै प्रतिफल नपाउने भएका हुन् । लघुवित्तले अघिल्ला दुई वर्ष पनि आफ्ना शेयरधनीहरूलाई लाभांश दिएको थिएन ।
पछिल्लो पटक लघुवित्तले आव २०७८/७९ बाट चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ५ प्रतिशत नगद गरी कुल चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यसयता लघुवित्तका शेयरधनीले कुनैपनि प्रकारको लाभाश पाउन सकेका छैनन् ।