काठमाडौँ । मन्जुश्री फाइनान्स लिमिटेडले काठमाडौंको थापाथलीस्थित आफ्नै नवनिर्मित भवनबाट २८औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। फाइनान्सले आफ्नो केन्द्रीय कार्यालय सोही भवनमा स्थानान्तरण गरेसँगै बिहीबार (माघ ८ गते) देखि थापाथली शाखाको औपचारिक सुरुवात गरेको हो।
यससँगै फाइनान्सको शाखा सञ्जाल २८ पुगेको छ भने एउटा एक्सटेन्सन काउन्टरमार्फत पनि सेवा प्रदान गर्दै आइरहेको छ। ग्राहकहरूको बढ्दो चाप र सुलभ सेवालाई मध्यनजर गर्दै आफ्नै भवनबाट आधुनिक बैंकिङ सेवा सुरु गरिएको कम्पनीले जनाएको छ।
पुस मसान्तसम्मको वित्तीय अवस्था चालु आर्थिक वर्षको दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार फाइनान्सको अवस्था मजबुत देखिएको छ:
निक्षेप संकलन: २४ अर्ब ३ करोड रुपैयाँ।
कर्जा लगानी: २० अर्ब ६१ करोड रुपैयाँ।
खुद नाफा: १३ करोड ५४ लाख रुपैयाँ।
वितरणयोग्य मुनाफा: २३ करोड ५६ लाख रुपैयाँ।
प्रतिशेयर आम्दानी (EPS): २० रुपैयाँ ०३ पैसा।
डिजिटल बैंकिङमा फड्को फाइनान्सले ग्राहक सेवालाई प्रविधिमैत्री बनाउन फोनपे (Fonepay) सँगको सहकार्यमा ‘मन्जुश्री फोनपे भर्चुअल क्रेडिट कार्ड’ सेवा पनि हालै सुरु गरेको छ। डिजिटल बैंकिङमा आफूलाई अग्रसर राख्दै फाइनान्सले ग्राहकलाई नवीनतम सेवाहरू प्रदान गर्ने लक्ष्य लिएको छ ।