काठमाडौँ । महालक्ष्मी विकास बैंक लिमिटेडको २४ औं वार्षिक साधारण सभा सोमबार काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा सभा सम्पन्न भएको हो।
लाभांश अनुमोदन
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष २०८१।८२ को मुनाफाबाट सेयरधनीहरूलाई १०।३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसअन्तर्गत हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ समेत) रहेका छन् । अघिल्लो आर्थिक वर्षमा बैंकले ७ प्रतिशत लाभांश वितरण गरेको थियो ।
वित्तीय अवस्थामा सुधार बैंकले गत आर्थिक वर्षमा आफ्नो वित्तीय सूचकहरूमा सकारात्मक सुधार गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा ९।३९ प्रतिशत रहेको आधार दर घटेर गत आर्थिक वर्षको अन्त्यमा ६.९४ प्रतिशत कायम भएको छ । त्यस्तै, पुँजीकोष पर्याप्तता अनुपात १४.९३ प्रतिशतबाट वृद्धि भई १७.०६ प्रतिशत पुगेको छ। बैंकको कुल निक्षेप ५६.२२ अर्ब र कर्जा लगानी ४७.२१ अर्ब रुपैयाँ पुगेको जानकारी सभामा दिइयो।
नयाँ सञ्चालक समिति चयन
साधारण सभाले आगामी कार्यकालका लागि ६ सदस्यीय नयाँ सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको छ । संस्थापक समूह (क) बाट राजेश उपाध्याय, संजय गिरि र सागर मल्ल (ग्रोइङ्ग प्रा.लि.को तर्फबाट) निर्वाचित भएका छन् । यस्तै, सर्वसाधारण समूह (ख) बाट श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन् । नवनिर्वाचित समितिको पहिलो बैठकले राजेश उपाध्यायलाई पुनः अध्यक्षमा चयन गरेको छ ।
सभामा अध्यक्ष उपाध्यायले सेयरधनीहरूको सुझावलाई आत्मसाथ गर्दै बैंकलाई थप सक्षम र गुणस्तरीय सेवा प्रदायक बनाउने प्रतिबद्धता व्यक्त गरे ।