
काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप डिजिटल सुविधा प्रदान गर्दै मोबाइल बैंकिङ एप ‘KSiMobile’ मार्फत मुद्दती खाता खोल्ने र सोही मुद्दती धितोमा कर्जा लिने दुवै सुविधा उपलब्ध गराएको छ।
बैंकको मोबाइल बैंकिङ एपबाट मुद्दती खाता खोल्ने सुविधा पहिलेदेखि नै रहेकोमा, अब ग्राहकहरूले आफ्नो मुद्दती खातामा रहेको रकमको आधारमा आवश्यक परेको बेला मोबाइल एपमार्फत नै कर्जाका लागि आवेदन दिन सक्नेछन्। आवेदन दिएलगत्तै कर्जा रकम ग्राहककै खातामा तुरुन्त जम्मा हुनेछ।
यो सुविधा सुरु भएसँगै मुद्दती खाताको कर्जा लिनका लागि ग्राहकहरूले बैंकको शाखा कार्यालयमा उपस्थित भई कागजी प्रक्रिया पूरा गर्नुपर्ने बाध्यता हटेको छ। यसबाट ग्राहकहरूको समय बचत हुने, सेवा सहज हुने, र बैंकिङ अनुभवमा सन्तुष्टि थपिने बैंकले विश्वास लिएको छ। व्यस्त समयमा समेत जुनसुकै बेला जुनसुकै स्थानबाट कर्जा लिन सकिने भएपछि ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुनेछन्।
बैंकले ग्राहकहरूलाई बैंकसम्म पुग्नुपर्ने बाध्यतालाई कम गर्दै सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लगेको जनाएको छ। यसअघि नै बैंकले अनलाइनबाट खाता खोल्ने र मोबाइल बैंकिङ एपबाटै मुद्दती खाता खोल्न सकिने व्यवस्था गरिसकेको थियो।