
काठमाडौँ । नेपालगञ्जमा केन्द्रीय कार्यालय रहेको कर्णाली विकास बैंक घोटाला प्रकरणमा संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ परेको केही दिनपछि बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पनि पक्राउ परेका छन् । यस घोटालालाई नेपालको अर्थतन्त्रमा देखिएको खराब अवस्थाको एक प्रतिनिधि घटनाका रूपमा हेरिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले देवप्रकाश सिंह ठकुरीलाई केही दिनअघि नेपालगञ्जबाट पक्राउ गरेको हो । सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले ठकुरीलाई पक्राउ गरी बैंकको रकम हिनामिना प्रकरणमा अनुसन्धान भइरहेको जानकारी दिए। हाल उनीमाथि बाँकेमै राखेर अनुसन्धान भइरहेको छ ।
सीआईबीका अनुसार, पक्राउ परेकाहरूविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको छ। प्रहरीले यस प्रकरणमा अन्यको संलग्नता देखिएकाले उनीहरूको खोजी भइरहेको जनाएको छ ।
विसं २०६० सालमा स्थापना भएको यस बैंकमा अहिलेसम्म २ अर्ब ५० करोड रुपैयाँ हिनामिना भएको भन्दै उजुरी परेको छ ।