काठमाडौँ । सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै बैंकहरू पनि दुई दिन बन्द हुने भएका छन् ।
नेपाल राष्ट्र बैंक पनि सरकारी कार्यालय नै भएकाले सरकारकै निर्णयअनुसार नै दुई दिन बिदा हुने भएको हो । राष्ट्र बैंक बिदा हुँदा बैंकहरू पनि बिदा गर्नुपर्ने व्यवस्था छ । राष्ट्र बैंक बिदा भएको समयमा कारोबार सञ्चालन गर्नुपर्ने भएमा राष्ट्र बैंकमा लिखित रूपमा जानकारी गराउनुपर्ने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले बैंकले बिदा र कार्यालय समयसम्बन्धी नयाँ प्रावधान लागू गर्ने घोषणा गरेको छ । मानव संशाधन व्यवस्थापन विभागद्वारा जारी सूचनामा सरकारको निर्णय अनुसार अबदेखि हरेक शनिबार र आइतबार सार्वजनिक बिदा हुने उल्लेख गरिएको छ।
नयाँ नियमसँगै बैंक तथा वित्तीय संस्थाको दैनिक सञ्चालन समयसमेत परिमार्जन गरिएको छ । अब सोमबारदेखि शुक्रबारसम्म कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म खुला रहनेछ भने सर्वसाधारणका लागि बैंकिङ सेवा बिहान ९ बजेदेखि अपराह्न ४ बजेसम्म उपलब्ध हुनेछ।
यो व्यवस्था सोमबारदेखि नै लागू गरिएको छ । केन्द्रीय बैंकको निर्देशनपछि वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले पनि आन्तरिक रूपमा नयाँ तालिका लागू गर्न थालेका छन् ।