सांसद निर्वाचित भएपछि लिमा अधिकारीले दिइन् ‘निफ्रा’ को सञ्चालकबाट राजीनामा

काठमाडौँ । प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि लिमा अधिकारीले नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्य पदबाट राजीनामा दिएकी छिन् । बैंकको सञ्चालक समितिको बैठकले आज (मङ्गलवार) उनको राजीनामा स्वीकृत गरेको हो ।

अधिकारी करिब ४ वर्षदेखि निफ्राको सञ्चालक समितिमा आबद्ध थिइन्। बैंकले सोमबार नै एक कार्यक्रमका बीच उनलाई औपचारिक बिदाइ गरिसकेको छ ।

बिदाइका क्रममा अधिकारीले देशको पूर्वाधार क्षेत्रमा लगानी प्रवर्द्धन गर्ने संस्थासँग आबद्ध हुन पाउनु आफ्ना लागि महत्त्वपूर्ण उपलब्धि रहेको बताइन् । “निफ्राले आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठुला र गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन सफल हुने विश्वास लिएकी छु,” उनले भनिन् ।

समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद बनेकी अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय कोषाध्यक्ष समेत हुन् । अबको आफ्नो कार्यकालमा नेपालको पूर्वाधार विकासमा देखिएका नीतिगत तथा प्रशासनिक अवरोधहरू समाधान गर्न र आवश्यक सुधारका लागि पहल गर्ने प्रतिबद्धता उनले व्यक्त गरेकी छिन् ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै