पुससम्म कुन वाणिज्य बैंकको प्रतिसेयर आम्दानी कति ?

काठमाडौँ । वाणिज्य बैंकहरूको चालु आर्थिक वर्ष २०८२(८३ को पहिलो ६ महिना (साउनदेखि पुससम्म) को वित्तीय विवरण प्रकाशित गरेका छन् । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये एक बैंक बाहेक सबै वाणिज्य बैकको प्रतिशेयर आम्दानी (इपीएस) धनात्मक देखिएको छ । लक्ष्मी सनराइज बैंकको भने इपीएस ऋणात्मक रहेको छ ।

चालु आवको अर्धवार्षिक अवधिमा वाणिज्य बैंकहरुको नाफा करिब १२ प्रतिशत बढेको छ। पुससम्म २० वाणिज्य बैंकले ३० अर्ब ५२ करोड रूपैयाँ नाफा कमाएका छन् । गतत आवको सोही अवधिमा बैंकहरूको नाफा २७ अर्ब ३६ करोड रूपैयाँ थियो।

वाणिज्य बैंकहरूको ६ महिने रिपोर्ट: नबिल नाफामा अगाडि, कुमारीको ऐतिहासिक फड्को र लक्ष्मी सनराइज घाटामा

अब हेरौँ यस अवधिमा कुन बैंकको कति छ त प्रतिशेयर आम्दानी ?

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नबिल बैंकको वार्षिक प्रतिशेयर आम्दानी सबैभन्दा धेरै देखिएको छ । नाफाका आधारमा समेत पहिलो स्थानमा रहेको सो बैंकले चालु आवको दोस्रो त्रैमाससम्म प्रतिशेयर आम्दानीमा समेत अग्रस्थानमा रहेको छ । यस अवधिमा बैंकले वार्षिक ३५ रूपैयाँ ४ पैसा इपीएस कायम गरेको हो ।

बैंकले कमाएको कुल नाफा रकमलाई सो बैंकमा कायम रहेको शेयर संख्या अर्थात नाफालाई हरेक प्रति सेयरलाई भाग लगाउँदा कति पर्छ भनेर प्रतिशेयर आम्दानीले देखाउँछ । सेयर बजार विश्लेषणमा यस सूचकलाई महत्त्वपूर्ण सूचक मानिन्छ।

नबिल बैंकपछि एभरेष्टले प्रतिसेयर आम्दानीमा आफूलाई उभ्याएको छ । सो बैंकले पुससम्म ३० रुपैयाँ ८६ पैसा इपीएस कायम गरेको छ । तेस्रो स्थानमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले २७ रुपैयाँ ३५ पैसा, राष्ट्रिय वाणिज्य बैंकले २२ रुपैयाँ ६४ पैसा, कुमारी बैंकले २० रुपैयाँ ७४ पैसा र सानिमा बैंकले २० रुपैयाँ ५४ पैसा कायम गरेको छ ।

चालु आवको पहिलो ६ महिनामा प्राइम कमर्सिल, नेपाल एसबिआई, सिद्धार्थ, नेपाल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, माछापुच्छ्रे बैंक र हिमालयन बैंकको इपीएस ११ देखि २० रुपैयाँको बीचमा छ । कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, प्रभु बैंक र सिटिजन्स बैंकको इपीएस दश रुपैयाँभन्दा कम रहेको देखिन्छ ।

समीक्षा अवधमिा एनआइसी एसिया बैंक सबैभन्दा कम प्रतिशेयर आम्दानी हुने बंक बनेको छ। यस बैंकको यस्तो आम्दानी एक रूपैयाँ ७७ पैसा मात्र छ। त्यस्तै, लक्ष्मी सनराइज बैंक भने नोक्सानमा देखिएकोले यस्तो आम्दानी पनि ऋणात्मक छ । पुससम्म लक्ष्मी सनराइज बैंकको वार्षिक इपीएस २ रुपैयाँ ४ पैसा ऋणात्मक छ ।

समीक्षा अवधिमा वाणिज्य बैंकहरुको औसत प्रतिशेयर आम्दानी बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आम्दानी १४ रुपैयाँ ४० पैसा थियो । नाफा बढेसँगै बैंकहरुको प्रतिशेयर आम्दानीमा पनि सुधार भएको हो ।

तथ्याङ्क अनुसार २०८१ पुसको तुलनामा वाणिज्य बैंकको वार्षिक प्रतिशेयर आम्दानी बढेको छ भने समीक्षा अवधिमा ८ बैंकको घटेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै