हिमालयन बैंकको नाफामा १५% को गिरावट, खराब कर्जा ८ प्रतिशत नजिक

काठमाडौँ । हिमालयन बैंक लिमिटेडको खुद नाफामा उल्लेख्य गिरावट आएको छ। बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमास (पुस मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार नाफा र कर्जाको गुणस्तर दुवैमा दबाब देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंकले १ अर्ब २९ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत वर्षको सोही अवधिको तुलनामा १४.८८ प्रतिशतले कम हो। गत वर्ष बैंकले १ अर्ब ५१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।

ब्याज आम्दानी बढे पनि कुल आम्दानी घट्यो

बैंकको खुद ब्याज आम्दानी ३.६७ प्रतिशतले बढेर ४ अर्ब ७० करोड २३ लाख रुपैयाँ पुगेको भए पनि अन्य आम्दानीका स्रोतहरू खुम्चिएका छन्। खुद फि तथा कमिसन आम्दानी ८.९३ प्रतिशतले घटेको छ भने कुल सञ्चालन आम्दानीमा ५.९७ प्रतिशतको संकुचन आएको छ ।

प्रमुख वित्तीय सूचकहरूको अवस्था:

सूचक चालु आव (पुस मसान्त) गत आव (पुस मसान्त) परिवर्तन
खुद नाफा १ अर्ब २९ करोड २६ लाख १ अर्ब ५१ करोड ८७ लाख १४.८८% (▼)
प्रतिसेयर आम्दानी (EPS) ११ रुपैयाँ ४५ पैसा १४ रुपैयाँ ०३ पैसा १८.३९% (▼)
खराब कर्जा (NPL) ७.९६% ४.९८% २.९८ (बिन्दु ▲)
वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड (ऋणात्मक) ३ अर्ब ९५ करोड ९ लाख (ऋणात्मक) १२९.६४% (▲)

 

खराब कर्जा र वितरणयोग्य मुनाफाको चिन्ताजनक अवस्था

बैंकका लागि सबैभन्दा ठुलो चुनौती खराब कर्जा (NPL) मा देखिएको छ। गत वर्ष ४.९८ प्रतिशत रहेको यस्तो कर्जा उल्लेख्य रूपमा बढेर ७.९६ प्रतिशत पुगेको छ। कर्जाको गुणस्तर खस्किएसँगै बैंकको वितरणयोग्य मुनाफा ९ अर्ब ७ करोड ३० लाख रुपैयाँले ऋणात्मक बनेको छ। यसले बैंकको तत्काल लाभांश दिन सक्ने क्षमतालाई पूर्णतः बन्द गरिदिएको छ।

पुँजी र व्यवसायको आकार

चुक्ता पुँजी २२ अर्ब ५८ करोड १६ लाख रुपैयाँ भएको हिमालयन बैंकको जगेडा कोषमा २५ अर्ब ३० करोड रुपैयाँ सञ्चित छ । बैंकले पुस मसान्तसम्म ३ खर्ब ३२ अर्ब १५ करोड निक्षेप संकलन गरी २ खर्ब ३४ अर्ब २५ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै