काठमाडौँ । एनएमबी बैंकले आफ्नो शाखा सञ्जाललाई थप प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यले ८ वटा शाखा कार्यालयलाई एक आपसमा मर्ज गरेको छ । बैंकले एक सार्वजनिक सूचना जारी गर्दै शाखा समायोजन तथा एकीकरण सम्पन्न भएको जानकारी दिएको हो ।
बैंकको निर्णय अनुसार विराटनगर–१ को शाखालाई महेन्द्रचोक शाखामा र चितवनको नारायणगढ मेनरोड शाखालाई लायन्स चोक शाखामा समायोजन गरिएको छ ।
यसैगरी, पोखरा महानगरभित्रका चार शाखालाई पनि मर्ज गरी दुईवटा बनाइएको छ । पोखरा–२ को शाखालाई चिप्लेढुंगा शाखासँग र रामबजार शाखालाई अमरसिंह शाखामा मर्ज गरिएको बैंकले जनाएको छ ।
मर्ज गरिएका शाखाहरू बीचको दूरी निकै कम रहेकाले सेवा प्रवाहमा समस्या नहुने र ग्राहकले थप सुदृढ सेवा पाउने बैंकको विश्वास छ । “शाखा मर्जपछि पनि सबै प्रकारका बैंकिङ सेवाहरू साविककै अवस्थामा नियमित रूपमा उपलब्ध हुनेछन्,” बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत बैंकहरूलाई शाखा संख्या घटाउन वा मर्ज गर्न प्रोत्साहन गर्ने नीति लिएसँगै एनएमबी बैंकले सोही प्रावधान अनुरूप यो कदम चालेको हो ।