
काठमाडौँ । सानिमा बैंक लिमिटेडको २१औँ वार्षिक साधारणसभा आज (कार्तिक २ गते, आइतबार) हुँदैछ । काठमाडौंको आम्रपाली बैङ्क्वेट, भाटभटेनीमा बिहान १० बजेदेखि साधारणसभा सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट नगद लाभांश वितरण गर्ने प्रस्तावसहित विभिन्न महत्त्वपूर्ण एजेन्डाहरू पारित गरिनेछन् ।
७.३६८५% नगद लाभांश:
बैंकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट चुक्ता पुँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
हाल बैंकको चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको छ । सोअनुसार, बैंकले लगानीकर्तालाई १ अर्ब ७ लाख ५४ हजार ७ सय ५० रुपैयाँ १५ पैसा बराबरको नगद लाभांश वितरण गर्नेछ । यो प्रस्ताव सभाबाट पारित भएलगत्तै लगानीकर्तामा वितरण हुनेछ ।
सभामा अन्य प्रमुख एजेन्डाहरू:
साधारण सभामा निम्न मुख्य प्रस्तावहरू पेश र पारित हुनेछन्:
साधारण एजेन्डाहरू
१. आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको २१औं वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वित्तीय विवरण र सहायक कम्पनीहरू (सानिमा क्यापिटल लिमिटेड र सानिमा सेक्युरिटिज लिमिटेड) को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गर्ने ।
३. आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने ।
४. सञ्चालक समितिले प्रस्ताव गरेअनुसार नगद लाभांश वितरण गर्न स्वीकृति दिने ।
५. संस्थापक समूह (‘क’ समूह) बाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने ।
विशेष प्रस्तावहरू
६. राष्ट्र बैंकको निर्देशनअनुसार २ अर्ब रुपैयाँ बराबरको ८.२५ प्रतिशत अबिमोच्य असञ्चिति अग्राधिकार शेयर (Sanima Perpetual Non-Cumulative Preference Shares) जारी गर्ने ।
७. बैंकको अधिकृत पुँजी २० अर्ब रुपैयाँबाट वृद्धि गरी २२ अर्ब रुपैयाँ पुर्याउने । अग्राधिकार शेयर जारी भइसकेपछि चुक्ता पुँजी पनि सोहि अनुसार वृद्धि गर्ने ।
८. अग्राधिकार शेयर जारी, दर्ता तथा सूचीकरणसँग सम्बन्धित काममा नियामक निकायको निर्देशनअनुसार आवश्यक परिमार्जन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने ।
बुकक्लोज:
बैंकले सभा प्रयोजनका लागि असोज २७ गते बुक क्लोज गरेको थियो । त्यसैले, असोज २६ गतेसम्म कायम रहेका शेयरधनीहरू मात्र सभामा उपस्थित हुन र प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।