
काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले असार २९ गतेदेखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैंकले प्रति ऋणपत्र १,००० रुपैयाँ अंकित मूल्य कायम भएका २५ लाख कित्ता ‘१० वर्षे सिद्धार्थ बैंक डिबेन्चर २०९१’ निष्कासन गर्न लागेको हो।
कुल निष्कासित ऋणपत्रमध्ये १५ लाख कित्ता (१ अर्ब ५० करोड रुपैयाँ बराबरको) निजी तवरबाट बिक्री गरिनेछ। बाँकी १० लाख कित्ता (१ अर्ब रुपैयाँ बराबरको) सर्वसाधारणका लागि बिक्री गरिनेछ । सर्वसाधारणलाई छुट्याइएकोमध्ये ५० हजार कित्ता म्युचुअल फन्डलाई बिक्री गरिने बैंकले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम निष्कासन गरिएको पुरै कित्ताका लागि आवेदन दिन सक्नेछन्। छिटोमा असार ३२ गतेसम्म र सो अवधिमा पर्याप्त आवेदन नपरेमा ढिलोमा साउन ११ गतेसम्म आवेदन दिन सकिनेछ ।
बैंकले यस १० वर्ष अवधिको ऋणपत्रमा लगानीकर्तालाई वार्षिक ७.२५ प्रतिशत ब्याजदर प्रदान गर्नेछ। ऋणपत्र निष्कासनका लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ ।
नेपाल धितोपत्र बोर्डले सिद्धार्थ बैंकलाई असार ६ गते ऋणपत्र निष्कासनको अनुमति प्रदान गरेको हो ।