प्रभु बैंकको अध्यक्षमा किशोर जङ्ग कार्की चयन, सञ्चालक समितिले पायो पूर्णता

काठमाडौँ । प्रभु बैंक लिमिटेडको सञ्चालक समितिले पूर्णता पाएको छ। बैंकको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले किशोर जङ्ग कार्कीलाई अध्यक्षमा चयन गरेको हो ।

सोही बैठकले रमेश राज अर्याललाई स्वतन्त्र सञ्चालकका रूपमा मनोनित गरेसँगै प्रभु बैंकको सात सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको छ ।

अध्यक्ष कार्की र सञ्चालक अर्याल को हुन् ?

बैंकको अध्यक्ष नियुक्त भएका किशोर जङ्ग कार्की यसअघि पब्लिक सेयरहोल्डरका तर्फबाट सञ्चालक समितिमा थिए । उनी नेपाल सरकारको सहसचिव पदबाट अवकाश प्राप्त पूर्व कर्मचारी हुन् । सहसचिवका रूपमा उनले सम्पत्ति शुद्धीकरण विभाग, आन्तरिक राजस्व विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, अर्थ मन्त्रालय लगायतका विभिन्न महत्त्वपूर्ण निकायमा काम गरेका छन् ।

ओखलढुंगामा जन्मिएका कार्कीले जन प्रशासनमा स्नातकोत्तर गरेका छन् र निजामती प्रशासनमा अब्बल तथा अनुशासित मानिन्छन् । बैंक सञ्चालक समितिले कार्कीको अध्यक्षतामा बैंकको व्यावसायिक यात्रा अझ अब्बल बन्ने विश्वास व्यक्त गरेको छ ।

स्वतन्त्र सञ्चालक बनेका रमेश राज अर्याल पूर्व बैंकर हुन् । उनीसँग तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनले यसअघि तत्कालीन एनसीसी बैंक र कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी सम्हालेका थिए ।

पछिल्लो समय अर्यालले एनसीसी बैंक र कुमारी बैंकको सफल मर्जरको नेतृत्वसमेत गरेका थिए । मर्जरपछि बनेको कुमारी बैंकमा पनि उनले केही समय सीईओको जिम्मेवारी सम्हालेका थिए । अर्यालले शंकरदेव क्याम्पसबाट प्रथम श्रेणीमा एमबीए गरेका छन् ।

प्रभु बैंकको सञ्चालक समितिमा अब:

अध्यक्ष: किशोर जङ्ग कार्की (पब्लिक सेयरहोल्डरका तर्फबाट)

संस्थापक सेयरधनीका तर्फबाट सञ्चालक: अंगिर मान सिहं, ब्रिख बहादुर बस्नेत, अम्बिका शर्मा

सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक: सुरज कुमार श्रेष्ठ, राजु पौडेल

स्वतन्त्र विज्ञ सञ्चालक: रमेश राज अर्याल

यो निर्णयले बैंकको सञ्चालक समितिको संरचनालाई थप सुदृढ बनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै