देउराली सहकारीको बचत अपचलनमा सम्पत्ति शुद्धीकरणको मुद्दा, अध्यक्ष चौलागाईँ दम्पती मुख्य दोषी

काठमाडौँ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरी अवैध सम्पत्ति आर्जन गरेको अभियोगमा अध्यक्ष रविन्द्र चौलागाईँसहित तीन जनाविरुद्ध ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले अध्यक्ष चौलागाईँ, उनकी पत्नी एवं उपाध्यक्ष पुजा खत्री र मनोज भण्डारीविरुद्ध २ अर्ब ६८ करोड ५१ लाख रुपैयाँ बिगो दाबी गर्दै अभियोगपत्र दायर गरेको हो । सहकारीको केन्द्रीय तथा शाखा कार्यालयमार्फत सङ्कलित बचत रकम योजनाबद्ध रूपमा अपचलन गरी सम्पत्ति शुद्धीकरण गरिएको विभागको अनुसन्धानबाट पुष्टि भएको छ ।

सम्पत्ति जफतको माग

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पत्र र पीडितहरूको उजुरीका आधारमा विभागले सातदोबाटो, न्युरोड र भक्तपुर शाखाको कारोबारमा अनुसन्धान गरेको थियो । अनुसन्धानका क्रममा अपचलन गरिएको रकम काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक र झापा लगायतका जिल्लामा जग्गा खरिद तथा विभिन्न कम्पनीहरूमा लगानी गरिएको फेला परेको छ ।

थप सजायको माग

विभागका अनुसार रविन्द्र चौलागाईँ र पूजा खत्री सूचक संस्था (सहकारी) कै नेतृत्वदायी पदमा रहेर प्रत्यक्ष रूपमा कसुरमा संलग्न देखिएकाले उनीहरूमाथि सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम थप सजायको माग गरिएको छ । अर्का प्रतिवादी मनोज भण्डारीको हकमा पनि ऐनको दफा ३ बमोजिमको कसुरमा मुद्दा दायर गर्दै उनको नाममा रहेका चल–अचल सम्पत्ति जफत गर्न मागदाबी गरिएको छ ।

सहकारीमा सर्वसाधारणले जम्मा गरेको बचत रकम व्यक्तिगत फाइदाका लागि घरजग्गा र व्यापारमा लगानी गरी अवैध सम्पत्ति आर्जन गरिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै