साँस्कृतिक झाँकी र रक्तदानसहित जिल्ला बचत संघ मकवानपुरले मनायो वार्षिकोत्सव, उत्कृष्टलाई पुरस्कार

हेटौँडा । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरले आफ्नो २१ औं वार्षिकोत्सव शुक्रबार भव्य रूपमा मनाएको छ । “साँस्कृतिक विविधता नेपालीको पहिचान, आर्थिक, सामाजिक, साँस्कृतिक उन्नयनमा सहकारी अभियान” भन्ने नाराका साथ विशेष साँस्कृतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाइएको हो ।

संघको कार्यालय परिसरमा आयोजित कार्यक्रममा सहभागीहरू आ–आफ्नो मौलिक जातीय भेषभूषामा उपस्थित भएका थिए । सोही अवसरमा संघले विभिन्न विधामा उत्कृष्ट सहकारी, अभियानकर्मी र कर्मचारीहरूलाई सम्मान गरेको छ ।

को-को भए सम्मानित ?

संघले यस वर्ष विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने निम्न संस्थाहरूलाई सम्मान गरेको छ:

उत्कृष्ट सहकारी: महिला सेवा साकोस (हेटौँडा–१२) र जनचेतना साकोस (हेटौँडा–१५)।

अभियानकर्मी सम्मान: राधा सिन्तान र भोजमान श्रेष्ठ।

उत्कृष्ट कर्मचारी: माया तामाङ (महिला जनशक्ति साकोस) र प्रकाशबहादुर खनाल (संजीवनी साकोस)।

कारोबारका आधारमा उत्कृष्ट: गणपति साकोस (दैनिक कारोबार), जनकल्याण साकोस (२० करोड माथि बचत), बज्रबाराही साकोस (ऋण परिचालन) र महिला मिलन साकोस (सर्वाधिक शेयर) ।

अन्य सम्मानित सहकारी: महिला कल्याण, प्रतिफल, दिव्यज्योति महिला, सृजनशील महिला, पाथीभरा र पासाङ ल्हामु महिला विकास साकोस ।

साँस्कृतिक रौनक र रक्तदान वार्षिकोत्सवमा चेपाङ, गुरुङ, मगर, नेवारी, थारु, तामाङ र माझी भाषाका गीत तथा नृत्यहरू प्रस्तुत गरिएको थियो। चेपाङ समुदायका पहिलो गायक रबिन चेपाङले समेत आफ्नो प्रस्तुति दिएका थिए । साँस्कृतिक भेषभूषामा सजिएका १० जना सहभागीलाई समेत पुरस्कृत गरिएको थियो। कार्यक्रमकै अवसरमा आयोजित रक्तदानमा २१ जनाले रक्तदान गरेका थिए ।

संघको वित्तीय अवस्था १ सय २७ वटा सहकारी सदस्य रहेको यस संघको सेयर पुँजी ४ करोड ७२ लाख ८० हजार रुपैयाँ रहेको छ । संघसँग १ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बचत रहेको छ भने १५ वटा सहकारीलाई ६ करोड ७९ लाख १५ हजार रुपैयाँ ऋण लगानी गरिएको छ ।

संघकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटालगायत विभिन्न सहकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै