काठमाडौँ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) ले आज बिहीबारदेखि दुई दिन (पुस ३ र ४ गते) ललितपुरमा दुई दिने ‘शिखर गोष्ठी २०८२’ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को अवसर पारेर संघले सहकारी अभियानको सुदृढीकरणका लागि यो वृहत् कार्यक्रम गर्न लागेको हो ।
रणनीतिक उन्नयन र नियमनमा केन्द्रित “सञ्जालिकृत अभियान सुनिश्चितताका लागि रणनीतिक उन्नयन र नियामकीय अनुकूलन” भन्ने मूल नाराका साथ आयोजना हुने यस गोष्ठीमा देशभरका बचत तथा ऋण सहकारीको वर्तमान अवस्था र भविष्यको मार्गचित्रबारे छलफल हुनेछ।
विशेष गरी सहकारी क्षेत्रमा देखिएका विद्यमान चुनौतीहरूलाई चिर्दै नियामकीय निकायहरूसँगको समन्वय र संस्थागत सुशासनमा गोष्ठी केन्द्रित रहने नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले जानकारी दिए ।
नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत सापकोटाका अनुसार, गोष्ठीको उद्घाटन पुस ३ गते बिहान ८:३० बजे ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा हुनेछ ।
बचत र ऋण सहकारीको राष्ट्रव्यापी प्रतिनिधित्व विगत ३८ वर्षदेखि सहकारी अभियानमा सक्रिय नेफ्स्कूनमा ७६ जिल्लाका ४ हजारभन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरू आबद्ध छन्। यस सञ्जालमा ५९ वटा जिल्ला संघ, ४ वटा प्रदेश संघ र करिब ५९ लाख व्यक्तिगत सदस्यहरू जोडिएका छन् ।
अन्तर्राष्ट्रिय अभ्यास र प्रविधिमा जोड राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँगको सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको नेफ्स्कूनले यस गोष्ठीमार्फत अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूलाई नेपाली सहकारी क्षेत्रमा भित्र्याउने लक्ष्य राखेको छ। गोष्ठीमा वित्तीय सहजीकरण, प्रविधि विस्तार, र सहकारीमा सुशासन प्रवर्द्धनका लागि रणनीतिक कार्यपत्रहरू प्रस्तुत गरिनेछ ।
सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्या र समाधानका उपाय खोज्न यो गोष्ठी कोसेढुङ्गा सावित हुने विश्वास आयोजकले लिएको छ ।