काठमाडौँ । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न बुधबार थप २५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र (बन्ड) निष्कासन गरेको छ । केन्द्रीय बैंकले पछिल्लो समय बजारमा थुप्रिएको रकम दीर्घकालीन रूपमा खिच्न उपकरणको प्रयोगलाई तीव्रता दिएको हो ।
राष्ट्र बैंकले गत साता तीन पटकमा ७५ अर्ब र मंगलबार २५ अर्ब गरी एक सातामै १ खर्ब रुपैयाँ खिलिसकेको छ । बुधबारको निष्कासनसँगै यो रकम १ खर्ब २५ अर्ब पुगेको छ ।
ब्याजदर र प्रक्रिया ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८२ ङ’ नाम दिइएको यस ऋणपत्रको अवधि एक वर्षको हुनेछ। यसमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले बोलकबोल (Bidding) मार्फत लगानी गर्न सक्नेछन् । मंगलबार निष्कासन भएको सोही प्रकृतिको ऋणपत्रको ब्याजदर (कुपन रेट) २.६९ प्रतिशत कायम भएको थियो ।
लगानीकर्ताले अर्धवार्षिक रूपमा ब्याज पाउनेछन् । यस ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले धितोका रूपमा समेत प्रयोग गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।