बैंकमा ७६ खर्ब १९ अर्ब निक्षेप संकलन हुँदा कर्जा प्रवाह सुस्त, सीडी रेसियो ७३.९५% मा सीमित

काठमाडौँ । बैंकिङ प्रणालीमा निक्षेप संकलन ७६ खर्ब रुपैयाँ नाघेको छ। बजारमा कर्जाको माग संकुचित हुँदा र बैंकहरूले पर्याप्त लगानी गर्न नसक्दा प्रणालीमा अधिक तरलताको चाप थप बढ्दै गएको हो।

नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ७६ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ। पुस १५ गते मात्र प्रणालीमा ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ। अघिल्लो दिन (पुस १४) सम्म कुल निक्षेप ७६ खर्ब १५ अर्ब रुपैयाँ थियो।

निक्षेप र कर्जाको अवस्था तथ्याङ्कअनुसार वाणिज्य बैंकहरूमा मात्रै निक्षेप ६८ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ भने विकास बैंक र वित्त कम्पनीहरूको निक्षेप ७ खर्ब ५७ अर्ब रुपैयाँ रहेको छ।

निक्षेपमा उत्साहजनक वृद्धि देखिए पनि कर्जा विस्तार भने निकै सुस्त छ। पुस १५ गते प्रणालीमा ४ अर्ब निक्षेप थपिँदा कर्जा प्रवाह भने जम्मा १ अर्ब रुपैयाँमा खुम्चिएको छ। हाल बैंक तथा वित्तीय संस्थाहरूको कुल कर्जा लगानी ५६ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ। यसमध्ये वाणिज्य बैंकहरूको हिस्सा ५० खर्ब ६९ अर्ब र अन्य वित्तीय संस्थाको ६ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ।

सीडी रेसियो र अन्तरबैंक ब्याजदर निक्षेपको तुलनामा कर्जा प्रवाह कमजोर हुँदा बैंकहरूको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) घटेर ७३.९५ प्रतिशतमा झरेको छ। राष्ट्र बैंकले तोकेको ९० प्रतिशतको सीमा भन्दा यो निकै तल हो, जसले बैंकहरूसँग लगानी योग्य रकम प्रशस्त रहेको देखाउँछ।

प्रणालीमा पैसा थुप्रिएपछि अन्तरबैंक कारोबारको ब्याजदर पनि घटेर २.७५ प्रतिशतमा स्थिर भएको छ। आर्थिक गतिविधिमा आएको सुस्तताका कारण निजी क्षेत्रबाट कर्जाको माग अपेक्षाकृत रूपमा बढ्न नसक्दा बैंकिङ प्रणालीमा ‘अधिक तरलता’ को अवस्था लम्बिँदै गएको देखिन्छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै