बैंकिङ प्रणालीमा अधिक तरलता, राष्ट्र बैंकले आज ६० अर्ब तान्ने

काठमाडौँ । बैंकिङ प्रणालीमा देखिएको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले आज (असार १८ गते) ६० अर्ब रुपैयाँ बजारबाट तान्ने भएको छ। केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Instrument) को प्रयोग गरी यो रकम प्रवाह गर्ने तयारी गरेको हो।

राष्ट्र बैंकका अनुसार, आज दिउँसो ३ बजे यसका लागि बोलकबोल (Bidding) हुनेछ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल (Multiple Bids with Multiple Interest Rates) गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। यो बोलकबोलमा ‘क’ वर्गका वाणिज्य बैंक, ‘ख’ वर्गका विकास बैंक र ‘ग’ वर्गका वित्त कम्पनीहरू मात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले यो निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ १८ गते गरिने जानकारी दिएको छ। बैंकिङ प्रणालीमा तरलता बढ्दा मुद्रास्फीतिमा चाप पर्ने र ब्याजदर घट्न सक्ने जोखिम हुन्छ, जसलाई नियन्त्रण गर्न राष्ट्र बैंकले यस्ता उपकरणहरू प्रयोग गर्दै आएको छ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै