
कुल गार्हस्थ्य उत्पादनमा ३६.७० प्रतिशत हिस्सा; सन् २०२५ मा प्रतिव्यक्ति आय ९३२ डलर पुग्ने अनुमान।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मधेश प्रदेशको अर्ध-वार्षिक अध्ययन प्रतिवेदनअनुसार यस प्रदेशको कुल गार्हस्थ्य उत्पादन (जिडीपी) मा कृषि, वन तथा मत्स्य क्षेत्रको योगदान सबैभन्दा बढी ३६.७० प्रतिशत रहेको छ। सबैभन्दा कम योगदान भने खानी तथा उत्खनन क्षेत्रको ०.१५ प्रतिशत छ।
आर्थिक वृद्धि र प्रतिव्यक्ति आय:
आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको कुल गार्हस्थ्य उत्पादन उपभोक्ता मूल्यमा ८ खर्ब ४ अर्ब रुपैयाँ रहने अनुमान गरिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार सोही अवधिमा नेपालको कुल गार्हस्थ्य उत्पादन ६१ खर्ब ७ अर्ब रहने अनुमान छ।
आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको जिडीपी आधारभूत मूल्यमा ३.८८ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ, जबकि राष्ट्रिय जिडीपी वृद्धिदर ३.९९ प्रतिशत रहने प्रक्षेपण छ। यसै आर्थिक वर्षमा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन ९३२ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ।
यो प्रतिवेदन मधेश प्रदेशका ८ वटै जिल्लाहरूमा गरिएका स्थलगत तथा गैर-स्थलगत सर्वेक्षण, तथ्याङ्क सङ्कलन, र राष्ट्रिय तथ्याङ्क कार्यालयले प्रकाशन गरेको तथ्याङ्कका आधारमा तयार पारिएको राष्ट्र बैंकले जनाएको छ।
बैंकिङ क्षेत्रको अवस्था:
२०८१ पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ६४ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन प्रदेशमा प्रवाहित कुल कर्जाको १३.२३ प्रतिशत हो।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जामा १०.९९ प्रतिशतले वृद्धि भई १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ कायम भएको छ।
२०८१ पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट परिचालन गरेको निक्षेप १३.१७ प्रतिशतले वृद्धि भई ३ खर्ब ५३ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। कर्जा प्रवाह भने १२.१७ प्रतिशतले वृद्धि भई ४ खर्ब ८८ अर्ब ३८ करोड रुपैयाँ कायम भएको छ।
उत्पादन र राजश्वको स्थिति:
समीक्षा अवधिमा अध्ययनमा समेटिएका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा २७.६६ प्रतिशत मात्र रहेको छ। घरजग्गा रजिष्ट्रेशन संख्यामा १.०७ प्रतिशतले कमी आए पनि घरजग्गा रजिष्ट्रेशनबाट सङ्कलित राजस्वमा भने ८.१२ प्रतिशतले वृद्धि भएको छ।
कृषि उत्पादनमा मिश्रित नतिजा:
समीक्षा अवधिमा तरकारी तथा बागवानीले ओगटेको क्षेत्रफलमा ८.८८ प्रतिशत र फलफूल तथा मसलाले ओगटेको क्षेत्रफल ९.३३ प्रतिशतले वृद्धि भएको छ भने खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफल ४.५० प्रतिशतले घटेको छ।
खाद्य तथा अन्य बालीको उत्पादन १.४१ प्रतिशत र फलफूलको उत्पादन ११.५२ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, मसला उत्पादन १५.४६ प्रतिशत र तरकारी तथा बागवानी उत्पादन १.०७ प्रतिशतले कमी आएको छ।
पशुजन्य उत्पादनतर्फ दूध, मासु र अण्डाको उत्पादन क्रमशः ५.२७ प्रतिशत, १.७१ प्रतिशत र २.२० प्रतिशतले वृद्धि भएको छ। माछाको उत्पादन ४.१३ प्रतिशतले वृद्धि भएको छ।
वनजन्य उत्पादनअन्तर्गत काठको उत्पादन ११७.६० प्रतिशत र दाउराको उत्पादन ११.८६ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्रिय गौरवका आयोजना र वैदेशिक रोजगारी:
मधेश प्रदेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, पूर्व–पश्चिम रेलमार्ग, हुलाकी राजमार्ग, काठमाडौं तराई मधेश द्रुतमार्ग र राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमजस्ता राष्ट्रिय गौरवका आयोजनाहरू निर्माणाधीन वा निर्माण हुने क्रममा छन्। यीमध्ये हुलाकी सडक मार्गको निर्माणको गति तुलनात्मक रूपमा तीव्र रहेको छ।
आर्थिक वर्ष २०८१/८२ को पुस मसान्तसम्ममा मधेश प्रदेशबाट वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ८८ हजार ६ सय ८९ रहेको छ, जुन मुलुकबाट श्रम स्वीकृति लिने कुल संख्याको २२.५६ प्रतिशत हो।