बैंकमा तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले एकैदिन ९० अर्बको निक्षेप संकलन बोलकबोल गर्दै

काठमाडौँ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण बोलकबोल गर्ने भएको छ। केन्द्रीय बैंकले ३५ दिन अवधिको ९० अर्ब रुपैयाँको निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्न लागेको हो।

बैंकहरूले कर्जा लगानी गर्न नसक्दा तरलताको चाप बढ्दै गएको छ। यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले निरन्तर तरलता प्रशोचन गरिरहेको छ। निक्षेप संकलन बोलकबोलका साथै ब्याजदर करिडोरको तल्लो सीमा (फ्लोर रेट) को रूपमा रहेको स्थायी निक्षेप सुविधा पनि उपलब्ध गराउँदै आएको छ।

फ्लोर रेटका कारणले नै बचतको ब्याजदर राष्ट्र बैंकले ३ प्रतिशतभन्दा तल झर्न दिएको छैन। यसले गर्दा औसत अन्तरबैंक ब्याजदर करिब ३ प्रतिशत कायम रहँदा निक्षेपको ब्याजदर बैंकहरूले धेरै घटाउन सकेका छैनन्। यद्यपि, औसत निक्षेपको ब्याजदर र कर्जाको ब्याजदर दशकपछिकै न्यून बिन्दुमा झरेको छ।

आर्थिक वर्षको अन्त्यतिर तरलताको चाप थप बढ्दै गएको छ। यसअघि २१ दिनको निक्षेप संकलन उपकरण बोलकबोल गर्दै आएको राष्ट्र बैंकले पछिल्लो समय ४२ दिन र ३५ दिनको लागि पनि उक्त उपकरण बोलकबोल सुरु गरेको छ। बुधबार पनि ३५ दिनको लागि ९० अर्ब तरलता प्रशोचन गर्न निक्षेप संकलन बोलकबोल गर्न लागिएको हो, जसको ब्याजदर बोलकबोलबाटै तय हुनेछ।

राष्ट्र बैंकको असार ३ गतेको तथ्यांकअनुसार, बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि खिचिएको तरलता मौज्दात ४ खर्ब २८ अर्ब ९५ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षसहित पछिल्लो तीन वर्षदेखि निक्षेपको तुलनामा कर्जाको वृद्धिदर न्यून हुँदा तरलताको चाप बढ्दै गएको छ। असार १ गतेको तथ्यांकअनुसार, बैंकिङ प्रणालीको कुल निक्षेप ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ भने कुल कर्जा ५५ खर्ब ६८ अर्ब रुपैयाँ छ।

गत २०८१ असार मसान्तमा कुल निक्षेप ६४ खर्ब ९६ अर्ब रुपैयाँ र कुल कर्जा ५१ खर्ब ७० अर्ब रुपैयाँ थियो। आर्थिक वर्षको ११ महिना सकिँदा कुल निक्षेप ५ खर्बभन्दा बढीले वृद्धि भई ७० खर्ब १ अर्ब रुपैयाँ पुगेको छ। त्यसैगरी, कर्जा २०८१ असार मसान्तमा ५१ खर्ब ७० अर्ब रुपैयाँ रहेकोमा असार १, २०८२ मा पुग्दा करिब ४ खर्बले बढेर ५५ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै