बजारमा अधिक तरलता: राष्ट्र बैंकले ४० अर्ब खिच्न खोज्दा बैंकहरू ६६ अर्ब राख्न तयार

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता (धेरै पैसा) खिच्न ४० अर्ब रुपैयाँ संकलन गरेको छ। आज बुधबार २१ दिनका लागि ‘निक्षेप संकलन बोलकबोल’ उपकरणमार्फत राष्ट्र बैंकले यो रकम खिचेको हो।

राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ४० अर्ब रुपैयाँ खिच्न सूचना जारी गरेको थियो। यसमा २७ वटा बैंक तथा वित्तीय संस्था सहभागी भई ४३ वटा प्रस्ताव पेस गरेका थिए।

अपेक्षितभन्दा बढी आवेदन

राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ मात्र खिच्न खोजे पनि बैंकहरूले ६६ अर्ब २५ करोड रुपैयाँका लागि आवेदन दिएका थिए। बढी आवेदन परे पनि राष्ट्र बैंकले निर्धारित ४० अर्ब रुपैयाँ मात्र बजारबाट खिचेको छ ।

बैंकहरूले अधिकतम ३ प्रतिशत र न्यूनतम २.९००० प्रतिशत ब्याजमा उक्त रकम राष्ट्र बैंकमा राख्न प्रस्ताव गरेका थिए। राष्ट्र बैंकले भारित औसत ब्याजदर २.९८४५ प्रतिशतमा यो रकम संकलन गरेको छ। यसको अर्थ, बैंकहरूले भारित औसत २.९८४५ प्रतिशत ब्याजदरमा २१ दिनका लागि राष्ट्र बैंकमा ४० अर्ब रुपैयाँ राखेका हुन्। यो रकम असार १८ गते राष्ट्र बैंकले ब्याजसहित बैंकहरूलाई फिर्ता गर्नेछ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउँछन्।

के हो निक्षेप संकलन ?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता (आवश्यकताभन्दा बढी पैसा) निश्चित अवधिका लागि प्रशोचन (बजारबाट खिच्न) गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक हो। यसअन्तर्गत बोलकबोलको आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट राष्ट्र बैंकले निक्षेप संकलन गर्छ, जसबाट बजारमा तरलता घट्छ ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्ने व्यवस्था छ र बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिन्छ। निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको चार अंकसम्म) उल्लेख गर्नुपर्छ ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिइन्छ र आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिन्छ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा ‘Pro-rata Basis’ मा बाँडफाँड गरिन्छ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकोले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइँदैन। तर, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने SLR (Statutory Liquidity Ratio) तथा Liquidity Ratio (तरलता अनुपात) मा भने गणना गर्न पाइनेछ ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै