बजारमा अधिक तरलता: राष्ट्र बैंकले आज ६० अर्ब रुपैयाँ खिच्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आज असार ८ गते आइतबार ६० अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकको मौद्रिक व्यवस्थापन विभागले ४२ दिनका लागि निक्षेप संकलन बोलकबोल उपकरण मार्फत उक्त रकम बजारबाट तान्न लागेको हो।

निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्। निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ। सहभागी बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलवपछिको चार अंकसम्म) उल्लेख गरी अपरान्ह ३ बजेभित्र राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत आवेदन दिनुपर्नेछ।

आवेदन दिँदा न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ करोड रुपैयाँले भाग जाँदा निःशेष भाग जाने गरी पूरै रकमका लागि आवेदन दिन सकिनेछ। प्राप्त आवेदनका आधारमा राष्ट्र बैंकले ६० अर्ब, सोभन्दा बढी वा सोभन्दा घटी रकम खिच्न सक्नेछ।

के हो निक्षेप संकलन?

बैंकिङ क्षेत्रसँग रहेको अधिक तरलता निश्चित अवधिका लागि प्रशोचन (बजारबाट पैसा तान्ने) गर्न नेपाल राष्ट्र बैंकले प्रयोगमा ल्याएका विभिन्न उपकरणमध्ये निक्षेप संकलन बोलकबोल पनि एक हो। यसअन्तर्गत बोलकबोलका आधारमा ब्याजदर निर्धारण भई बैंक तथा वित्तीय संस्थाबाट नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने गर्दछ, जसबाट बजारमा तरलता कम हुन जान्छ। बोलकबोल नगरिकन निक्षेप संकलन दरमा पनि निक्षेप संकलन गर्न सकिने व्यवस्था रहेको छ।

निक्षेप संकलनका लागि आह्वान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिकता दिई आह्वान गरिएको रकमसम्म क्रमशः बाँडफाँड गरिन्छ। समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा प्रो-राटा बेसिस (Pro-rata Basis) मा बाँडफाँड गरिनेछ।

निक्षेप संकलन गरिएको रकम सम्बन्धित बोलवालाको लगानी पोर्टफोलियो हुने भएकाले सो रकमलाई अनिवार्य नगद मौज्दात (CRR) मा गणना गर्न पाइँदैन। यद्यपि, राष्ट्र बैंकको निर्देशनबमोजिम कायम राख्नुपर्ने एसएलआर (SLR) तथा लिक्विडिटी रेसियो (Liquidity Ratio) मा भने गणना गर्न पाइनेछ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै