
११ महिनामा कर्जा प्रवाह ४९ खर्ब १० अर्ब र निक्षेप ६२ खर्ब ५८ अर्ब पुग्यो; ग्लोबल आइएमई अग्रस्थानमा
काठमाडौँ । चालू आर्थिक वर्ष २०८१/८२ को ११ महिनामा वाणिज्य बैंकहरूको निक्षेप र कर्जा लगानी दुवैमा ८ प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ। नेपाल बैंकर्स संघले उपलब्ध गराएको पछिल्लो तथ्यांकअनुसार गत असार मसान्तदेखि जेठ मसान्तसम्म आइपुग्दा यो वृद्धि भएको हो।
कर्जा लगानीको अवस्था:
संघको तथ्यांकअनुसार साउनदेखि जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ८.२३ प्रतिशतले बढेर ४९ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ। गत असार मसान्तसम्म वाणिज्य बैंकहरूले ४५ खर्ब ४७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए।
यो अवधिमा १८ बैंकको कर्जा लगानी बढेको छ भने एनआईसी एसिया बैंक र कुमारी बैंकको भने घटेको छ। सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ, जसको कर्जा प्रवाह ४ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ।
निक्षेप संकलनको अवस्था:
यसै गरी चालू आर्थिक वर्षको ११ महिनामा निक्षेप संकलन ८.७५ प्रतिशतले बढेर ६२ खर्ब ५८ अर्ब रुपैयाँ पुगेको छ। असार मसान्तसम्म वाणिज्य बैंकहरूले ५७ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए।
यस अवधिमा एनआईसी एसिया बाहेक अरू सबै बैंकको निक्षेप संकलन बढेको छ। सबैभन्दा धेरै निक्षेप संकलन बढ्नेमा एनएमबी बैंक रहेको छ, जसको निक्षेप संकलन २१.३७ प्रतिशतले बढेर २ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको छ। सबैभन्दा धेरै निक्षेप संकलन गर्नेमा ग्लोबल आइएमई बैंक नै रहेको छ, जसले जेठ मसान्तसम्ममा ५ खर्ब ५४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ।