बैंक तथा वित्तीय संस्थामा निक्षेप हालसम्मकै उच्च, ७० खर्ब नजिक पुग्यो

काठमाडौँ । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा परिचालन भएको निक्षेप हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल राष्ट्र बैंकका अनुसार, कुल निक्षेप बढेर ६९ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ, जुन ७० खर्ब रुपैयाँको नजिक हो।

यस कुल निक्षेपमध्ये वाणिज्य बैंकहरूको अंश ६२ खर्ब ५८ अर्ब रुपैयाँ रहेको छ भने अन्य बैंक तथा वित्तीय संस्थाको ७ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। चाखलाग्दो कुरा त के छ भने, बैंक तथा वित्तीय संस्थाहरूमा अहिले भएको यो निक्षेप रकम नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) भन्दा पनि बढी हो । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार नेपालको जीडीपीको आकार ६१ खर्ब सात अर्ब रुपैयाँ छ ।

पछिल्लो समय निक्षेप परिचालन बढ्दै गए पनि सोही अनुपातमा कर्जा प्रवाह हुन सकेको छैन। बैंक तथा वित्तीय संस्थाको कुल कर्जा लगानी ५५ खर्ब ६४ अर्ब रुपैयाँ पुगेको छ, जसमा वाणिज्य बैंकको ४९ खर्ब ४५ अर्ब र अन्य वित्तीय संस्थाहरूको ६ खर्ब १९ अर्ब रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । निक्षेपअनुसार कर्जा प्रवाह नभएपछि कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ७८.३९ प्रतिशतमा झरेको छ ।

हाल बैंक तथा वित्तीय संस्थाहरूसँग ७ खर्ब रुपैयाँभन्दा बढी लगानीयोग्य पुँजी (तरलता) थुप्रिएको छ। कर्जाको माग बढ्न नसक्दा बैंकहरूमा अधिक तरलताको अवस्था सिर्जना भएको हो। ब्याजदर घटेर एकल अंकमा आउँदा पनि लगानीकर्तामा विश्वास बढ्न नसक्दा कर्जाको मागमा अपेक्षित वृद्धि हुन सकेको छैन। यस अवधिमा ठूला लगानीका उद्योग तथा अन्य परियोजनाहरू पनि खासै अगाडि आएका छैनन्।

राष्ट्र बैंकका अनुसार, वार्षिक बिन्दुगत आधारमा बैंकको निक्षेपको वृद्धिदर ११.४ प्रतिशत रहेको छ भने निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ८.४ प्रतिशत मात्र छ। बैंकहरूमा रहेको अत्यधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले विभिन्न वित्तीय औजारहरू प्रयोग गरेर ४ खर्ब रुपैयाँभन्दा बढी रकम प्रशोचन (बजारबाट तरलता खिच्ने कार्य) गरिसकेको छ।

प्रतिक्रिया

सबै

सम्बन्धित समाचार

सबै